
सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा सुटुक्क जाने गरेको आरोप लगाएका छन् ।
अध्यक्ष नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा साँठगाँठका लागि ओलीले पूर्वराजा शाहको निवासमा सुटुक्क जाने गरेको बताउका हुन् । अखिल नेपाल महिला संघ (समाजवादी)ले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले ओली दक्षिणपन्थी भएको दावी गर्दै दक्षिणपन्थी शक्ति राप्रपासँग पनि चुनावमा मिलेर जाने प्रयास गरिरहेको तर्क गरे ।
तर आफूहरु भने वामपन्थी, लोकतान्त्रिक शक्ति भएकाले काँग्रेस लगायतका शक्तिहरुसँग चुनावी तालमेल गरेर अघि बढने उनको भनाइ थियो । अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनसँग मिलेर चुनावमा जाने अडान लिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र देउवापत्नी आरजु देउवाप्रति आभार पनि व्यक्त गरे ।
त्यसका लागि काँग्रेसको संस्थागत निर्णयको पर्खाईमा आफूहरु रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले अन्य बामपन्थी राजनीतिक शक्तिहरुले पनि आफ्नो पार्टीसँग चुनावी तालमेलका लागि प्रस्ताव गरिरहेको बताए ।
‘शेरबहादुरजीले पटकपटक भन्नु भएको छ– यो गठबन्धनसँगसँगै हामी चुनावमा जानेछौं । अव पार्टीले नै के निर्णय गर्छ, हामी पर्खेर बसिरहेका छौं । हामी आफ्नो शक्तिको बलमा अगाडि बढन चाहन्छौं । चुनाव बैशाखको ३० गते नै हुन्छ । त्यसमा तपाईहरु अलमलमा पर्नुपर्ने आवश्यक्ता छैन । त्यसकारण बैशाख ३० गते चुनावको तयारीमा अव सिंगो पार्टी लागेको छ । त्यही अनुसार हामीले कमिटी बनाइरहेका छौं,’ उलने भने ।
‘तर यो गठबन्धनलाई तोड्नका लागि केपी ओली लागि परेका छन । तर उनी पनि गठबन्धन गर्दैछन, कोसँग थाहा छ ? सुटुक्क ज्ञानेन्द्रको निवासमा पुग्ने गरेका छन् । राप्रपासँग साँठगाँठ गर्न खोजिरहेका छन । विदेशीहरुसँग दलाली गर्ने पार्टीहरुसँग तालमेल गर्न खोजिरहेका छन । किनभने उनीहरु दक्षिणपन्थी शक्ति हुन । दक्षिणपन्थी शक्तिहरु उनीहरुसँग मिल्छन । हामी बामपन्थी, लोकतान्त्रिक शक्ति हौं । लोकतान्त्रिक शक्ति र बामपन्थी शक्तिहरुसँग मिलेर अघि बढछौं । तपाईहरु पनि पहिलो त आफ्नो शक्तिमाथि भरोसा गरेर संगठन निर्माण गरेर आफ्नो हैसियत कायम राखेर अगाडि बढनोस् । हैसियत नभएकालाई कसैले पत्याउदैनन् । आफनै शक्ति र संगठन नभएकालाई कसैले पत्याउँदैनन्,’ नेता नेपालले भने ।
अध्यक्ष नेपालले आफ्नै शक्तिको भरमा चुनाव जित्नेगरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । उनले एमाले परित्याग गरेर आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको लहर नै चलेको दावी समेत गरे ।
पार्टी स्थापना भएको ६ महिनाको छोटो अवधिमा कुनै पनि पार्टीले नेपालको इतिहासमा आफ्नो पार्टीले जस्तो आकार ग्रहण गर्न नसकेको पनि उनले बताए । अध्यक्ष नेपालले आफ्नो पार्टीले सही विचार लिएर अघि बढेकाले जनलहर देखा परेको पनि दाबी गरे ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit