
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ ।
काठमाण्डौको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान भइरहेको हो । मतदान बिहान ८ बजेबाट सुरु हुने भनिएको भएपनि करिब १२ बजेबाट सुरु भएको छ । मतदाताको संख्या धेरै भएको र त्यसलाई चुस्त ढंगले मतदान गराउने व्यवस्था गर्न मतदान कार्य केही ढिला हुन गएको केन्द्रीय निर्वाचन समितिमा सदस्य राजु बस्नेतले जानकारी दिएका छन् ।
उनले मतदान छिटो सम्पन्न गर्न ८६ वटा विद्युतीय मतदान मेसिन र अध्यक्ष पदका उम्मेदवारको हकमा मत–पत्रको पनि व्यवस्था गरिएको बताएका छन् । निर्वाचन समितिका अनुसार मतदान बेलुका १० बजेसम्म चल्नेछ । त्यसपछि दुई घण्टा भित्र मतपरिणाम घोषणा हुनेगरी मतगणनाको कामलाई अघि बढाउने निर्वाचन समितिको तयारी छ ।
राप्रपाको अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी परेको छ । अध्यक्ष थापाले आफ्नो जीत सुनिश्चित भएको प्रतिक्रिया दिएका छन् । उनले पार्टी भित्र नेतृत्वका लागि भएको प्रतिस्पर्धाले पार्टीलाई झनै सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।
अर्का अध्यक्षका प्रत्यासी लिङ्देनले पार्टीको एजेन्डालाई जनताको बीचमा लैजाने काममा विगतका नेतृत्वले कमजोरी गरेकाले त्यसलाई सच्याउन आफूले अध्यक्षमा उम्मेदवारी दिएको बताएका छन् । उनले महाधिवेशनबाट पार्टीमा फुट आउने अवस्था अन्त्य भएर जाने दाबी समेत गरेका छन् ।
महाधिवेशनका ४ हजार ३८० प्रतिनिधिहरुले नयाँ नेतृत्व चयनका लागि मतदानमा भाग लिइरहेका छन् । १४१ जना केन्द्रीय सदस्यका लागि २७० जनाको उम्मेदवारी परेको छ । राप्रपाको १ सय ९९ कार्य समितिमध्ये अध्यक्षसहित १४९ सदस्य निर्वाचित हुनेछन् भने बाँकी ५० जना अध्यक्षले मनोनित गर्ने वैधानिक व्यवस्था छ । ८ सदस्यीय पदाधिकारीका लागि १६ जनाको उम्मेदवारी परेको छ । पदाधिकारीमा एक महिलासहित ४ उपाध्यक्षका लागि ८ जना र एक महिलासहित ३ महामन्त्रीका लागि ६ जना चुनावी प्रतिस्पर्धामा रहेका केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit