
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बाँकी रहेका सबै विषयका परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिएका छन् ।
त्रिविले लिएको परीक्षाको नतिजा प्रकाशित गर्न ढिलाई भइरहेको गुनासो आइरहेका बेला मन्त्री पौडेलले बाँकी रहेका सबै परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न परीक्षा नियन्त्रण कार्यालयका पदाधिकारीहरुलाई निर्देशन दिएका छन् । मंगलबार बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयको अनुगमन गर्न पुग्नु भएका उनले विद्यार्थीले चाहेको बेलामा नतिजा प्रकाशित गर्ने व्यवस्था अपनाउन पनि त्यहाँका पदाधिकारीलाई सचेत गराएका छन् ।
उनले परीक्षा नियन्त्रण कार्यालयको प्रणालीमा सुधार गर्न आफू तयार रहेको तर जनशक्तिकै अभाव देखाएर परीक्षाको नतिजा प्रकाशित गर्ने काममा ढिलाइ गर्न नहुने स्पष्ट पारेका छन् । ‘फाष्ट ट्रयाक’को विधि अपनाएर भएपनि परीक्षाको नतिजा प्रकाशित गर्न त्रिभुवन विश्वविद्यालयले ढिलाइ गर्न नहुने उनको भनाइ थियो ।
‘जे सुकै तर्क गरेपनि रिजल्ट ढिलो भएको कुरा प्रमाणित छ । कोसिस गरेको कुरा काम गर्ने जनशक्ति कम भएको हुँदाखेरी काममा ढिलाइ भएको यहाँका कर्मचारीहरुले राख्नु भएको छ । तर सेवाग्राहीले समयमा सेवा प्राप्त गर्नुपर्नेमा रिजल्ट ढिला भएको छ । जे स्थिति छ । मौजुदा अवस्थाबाट रिजल्ट छिटो निकाल्ने फाष्ट ट्रयाकको तरिका अपनाउनुस् भनिएको छ । यसलाई सुधार्ने प्रसंगमा अर्को प्रणाली अपनाउला । तर अहिले नै भएको जनशक्तिबाट छिटोभन्दा छिटो रिजल्ट निकाल्ने काम अघि बढाउनुस् भनेका छौं । केही विषयको रिजल्ट निस्केको पनि छ । केही विषयमा निस्कन बाँकि रहेको छ । कन्ट्रोलर सर पनि यहाँसँगै हुनुहुन्छ । विद्यार्थीको गुनासो अनुसार कर्मचारी पुगेन, सिस्टम पुगेन भन्ने कुराले मिल्दैन । उसले चाहेको बेलामा रिजल्ट दिन सक्नुपर्छ विश्वविद्यालयले । त्यो व्यवस्था गर्नुस् भनेको छु’ उनले भने ।
यता, परीक्षा नियन्त्रक पुष्पराज जोशीले जनशक्ति अभावको कारण परीक्षाको नतिजा प्रकाशित गर्न ढिलाइ भएको जवाफ मन्त्री पौडेललाई दिएका छन् । उनले जनशक्तिको अभाव र विश्वविद्यालय अन्तर्गतको विद्यार्थीहरुको संख्या बढि भएकाले परीक्षाको नतिजा प्रकशित गर्ने काममा ढिलाइ हुन गएको कुरा आफूले मन्त्री पौडेललाई जानकारी गराएको बताएका छन् ।
उनले परीक्षा नियन्त्रण कार्यालयका सबै शाखाको अनुगमन गरी त्यहाँका कर्मचारीहरुको गुनासो सुनेका छन् । त्रिभुवन विश्वविद्यालयको परीक्षाबारे धेरै गुनासो बाहिर आएपछि आफू अनुगमनमा आएको मन्त्री पौडेलले बताएका छन् । उनले सो विश्वविद्यालयको समग्र पुनर्संरचना गरेर अघि बढनुपर्ने योजना सुनाउँदै त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग छिट्टै परामर्श गरेर अघि बढ्ने पनि बताएका छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit