
नेकपा (एमाले) का उपमहासचिव विष्णु पौडेलले पार्टीभित्र फरक मत नरहेको बताएका छन् ।
पार्टीका संगठन विभाग प्रमुख समेत रहेका उपमहासचिव पौडेलले पार्टी विचार, संगठनसहित सबै हिसाबले एकताबद्ध रहेको दाबी समेत गरे । उनले पार्टीको विधान महाधिवेशनमा पार्टीभित्र फरक मत कसैले पनि दर्ज नगरेको स्पष्ट पारे ।
सोमबार हालै सम्पन्न पार्टीको विधान महाधिवेशनसँग केन्द्रित रहेर न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उपमहासचिव पौडेलले पार्टीका अर्का उपमहासचिव घनश्याम भुसालप्रति संकेत गर्दै पार्टीको विधान महाधिवेशनमा औपचारिक रुपले कसैले फरक मत नराखेको प्रतिक्रिया दिए ।
‘पार्टीको औपचारिक, आधिकारिक निकायमा, कमिटीमा होला, महाधिवेशनमा होला । ती ठाउँहरुमा व्यक्तिले आफ्नो विचार व्यक्त गर्छ । कमिटीले अथवा अधिवेशनले निर्णय गर्छ । त्यो निर्णयमाथि कसैको असहमति रह्यो भने उसले औपचारिक रुपले बैठकको माईन्यूटमा दर्ज गर्नुपर्छ । औपचारिक रुपमा दर्ज भयो भने देखिन त्यसलाई फरक मत मानिन्छ । यदि कसैले औंपचारिक रुपमा फरक मत राखेन भने देखिन ऊ पार्टीको निर्णयसँग सहमत भयो भन्ने मानिन्छ । हामीले यो प्रणाली नै विकास गरेका छौं,’ उनले भने ।
‘औपचारिक रुपमा माइन्युटमा कसैले मेरो मत यो हो भनेर दर्ज नगर्दासम्म पार्टीमा फरक मत छ भनेर मानिँदैन । यस पटक कसैले पनि पार्टीमा फरक मत राखेको होइन । कोही पनि असहमत भएको र कसैले पनि फरकमत प्रस्तुत गरेको अवस्था होइन । त्यसकारणले पार्टीमा फरक मतको अवस्था नै छैन । पार्टी विचारमा, संगठनमा सबै हिसावले एकताबद्ध छ,’ पौडेलले भने ।
उपमहासचिव पौडेलले विधान महाधिवेशनले पार्टी विभाजन नभएको पुनर्पुष्टि गरेको बताए । विधान महाधिवेशनको उपस्थितिले, त्यहाँ भएको छलफलले र रिर्पोटिङपछि पार्टी विभाजन नभएको आफूहरुको निष्कर्ष सही सावित भएको उनको तर्क छ ।
उपमहासचिव पौडेलले माधव नेपालप्रति संकेत गर्दै स्वार्थवश, कुण्डावश, इस्र्यावश केही साथीहरु अलग भएको र भ्रममा परेर पार्टी छोडेकाहरु पुनः फर्किने क्रम सुरु भएको पनि बताए ।
उपमहासचिव पौडेलले एमालेको राष्ट्रिय महाधिवेशन निर्धारित समयमै हुने र त्यसले राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकालाई अरु बढि प्रभावकारी बनाएर लैजाने विश्वास समेत व्यक्त गर्नु भयो ।
आइतबार सम्पन्न एमालेको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १० औं राष्ट्रिय महाधिवेशन आगामी मंसीर १०, ११ र १२ गते बुटवलमा हुने घोषणा गरेका थिए । उपमहासचिव पौडेलले सो महाधिवेशन तोकिएकै मितिमा सफलतापूर्वक सम्पन्न हुने बताए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit