Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

बंगलादेश, म्यानमार र ओमानका लागि प्रस्तावित राजदूत संसदीय सुनुवाईबाट अनुमोदन  

संसदीय सुनुवाई समितिले बंगलादेश, म्यानमार र ओमानका लागि सरकारद्वारा प्रस्तावित राजदुतहरुको नाम अनुमोदन गरेको छ । 

 

आईतवार सिंहदरवारमा बसेको समितिको बैठकले बंगलादेश, म्यानमार र ओमानका लागि सरकारबाट प्रस्तावित राजदूतत्रय घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे र डोरनाथ अर्याललाई अनुमोदन गरेको हो । 

 

समितिका सभापति लक्ष्मणलाल कर्णले नेपाल सरकारद्वारा बंगलादेश, म्यानमार, ओमानका लागि नेपाली राजदुतको पदमा नियुक्तिको लागि प्रस्तावित क्रमशः घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, डोरनाथ अर्यालको नाम संघीय संसदको संयुक्त बैठक र संयुक्त समितिको कार्यसञ्चालन नियमावली २०७५ को नियम २६ को उपनियम ५ बमोजिम अनुमोदन भएको घोषणा गरेका हुन् । 

 

समितिको बैठकमा बंगलादेशका लागि प्रस्तावित राजदुत घनश्याम भण्डारीले आफ्नो कार्यकालमा बंगलादेशमा छात्रृत्तिमा अध्ययनरत नेपालीहरुको संख्यालाई बढाउने र त्यहाँ देखिएका नेपालीहरुको समस्या समाधानमा केन्द्रित हुने बताएका छन्  ।

 

उनले नेपाली विद्यार्थीहरुलाई उच्च स्तरको विश्वविद्यालयमा अध्ययन गर्न पाउने व्यवस्थामा जोड दिने, छात्रवृत्तिबाहेकका भिसामा बंगलादेश गएका विद्यार्थीहरुको समस्या समाधान गर्ने र उचित परामर्श पाउनुपर्ने व्यवस्थामा जोड दिने बताए  ।

 

उनले नेपाल र बंगलादेशको सार्वजनिक कुटनीति र जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउन पहल गर्ने पनि बताए । उनले नेपालको शान्तिपूर्ण लोकतान्त्रिक, समावेशी मुलुकको पहिचानलाई थप प्रवद्र्धन गर्नेमा पनि विशेष पहल गर्ने बताए । 

 

त्यस्तै म्यानमारका लागि प्रस्तावित राजदुत हरिशचन्द्र घिमिरेले नेपाल पर्यटन बोर्ड र लुम्बिनी विकास कोष र अन्य सरोकारवाला निकायसँग समन्वय गरी लुम्बिनी जाऔँ, भिजिट लुम्बिनी अभियानको रुपमा सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

 

उनले म्यान्मारस्थित नेपाली राजदुतावासमा पर्यटन सम्पर्क व्यक्ति तोकी नेपालको पर्यटन सम्बन्धी सूचना, जानकारीको शीघ्र र निरन्तर रुपमा प्रवाह गर्ने कुरामा जोड दिने बताए । घिमिरेले बुद्धको ज्ञानको सन्देश प्रवाह गर्न म्यानमारमा बुद्ध सम्बन्धी विचार गोष्ठीको आयोजना गर्ने, बुद्ध र बौद्ध दर्शनलाई प्रवद्र्धन गरी धार्मिक पर्यटनको व्यवस्थापन र प्रवद्र्धन गर्न नेपाल–म्यानमार सामुहिक बौद्ध पर्यटन समितिको स्थापना गर्न पहल गर्ने पनि बताए ।

 

उनले म्यानमारका पर्यटकहरुको बसाइ अवधि लम्ब्याउन काठमाडौं–याङयोङ, भैरहवा–याङयोङ भैरहवा–माण्डले सिधा हवाई सेवा सञ्चालनको लागि पहल गर्ने बताए  । बौद्ध धर्म अध्ययन गराउने म्यानमारका विश्वविद्यालयहरुमा थप नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति दिलाउन पहल गर्ने कुरामा जोड दिने बताए । 


त्यस्तै ओमानका लागि प्रस्तावित नेपाली राजदुत डोरनाथ अर्यालले नेपाल र ओमान सरकारबीच भएका सम्झौताहरु कार्यान्वयन गर्न विशेष पहल गर्ने बताए  ।

 

उनले थाँती रहेका श्रम, सम्झौता र पर्यटन सहयोग सम्बन्धी सम्झौताहरुलाई अघि बढाउन र दिव्पक्षीय सहयोग सम्झौताहरु कार्यान्वयन गर्न पनि पहल गर्ने बताए । उनले नेपालमा ओमानको राजदुतावास खोल्नको लागि पनि पहल गर्ने, हाल विचाराधीन रहेको श्रम, सम्झौतालाई अन्तिम रुप दिन पहल गर्ने, दक्ष र व्यवसायीक जनशक्तिका लागि वैदेशिक रोजगारीका अवसरहरु खोजी गर्ने कुरामा विशेष जोड दिने पनि बताए  ।

 

 

अर्यालले नेपाली श्रमीक बढी भएको क्षेत्रमा हरेक वर्ष अन्तरक्रिया कार्यक्रम गरी समस्या समाधानमा जोड दिने, राजदूतावासमा रहेको सेल्टरलाई व्यवस्थित बनाउने र ठाउँ थप्ने पनि कार्य योजना रहेको बताए ।

 

उनले रोजगारीको सम्बन्धमा अफ्ठ्यारोमा परेका कामदारलाई तत्काल उद्धारका लागि हट लाइनको व्यवस्था गर्ने, व्यापार प्रवद्र्धनमा जोड दिने, नेपालको हाइड्रोपवरको क्षेत्रमा ओमानले लगानी गर्न चाहेकोले त्यस क्षेत्रमा लगानी भित्र्याउन जोड दिने र पर्यटन क्षेत्रमा प्रवर्द्धन गर्ने योजना रहेको पनि बताए 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै