Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

कम्युनिष्ट पार्टीहरुबीचमा एकता भएमात्रै प्रतिक्रान्तिलाई रोक्न सकिन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रतिक्रान्तिकारीहरु अझैपनि षड्यन्त्रकै प्रक्रियामा रहेका बताएका छन् ।

 

 

शुक्रबार नेकपा माओवादी केन्द्र र नेकपा मसाल(सम्पर्क केन्द्र) बीच पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रतिक्रान्तिकारी र प्रतिगमनकारीहरु राजनीतिक परिवर्तनहरुलाई उल्ट्याउने षड्यन्त्रमा लागको भन्दै अझै पनि ढुक्क हुने स्थिति नरहेको बताएका छन् । राजनीतिक परिवर्तनहरुलाई जोगाउन क्रान्तिका पक्षधर शक्तिहरु एकजुट भएर अगाडी बढ्नुपर्ने उनले बताएका छन् । कम्युनिष्ट पार्टीहरुबीचमा एकता भएमात्रै प्रतिक्रान्तिलाई रोक्न सकिने उनले उल्लेख गरेका छन् ।

 

 

‘अहिले पनि हामी ढुक्क हुने स्थिति छैन । प्रतिक्रान्तिकारी, प्रतिगमनकारी र षड्यन्त्रकारीहरु अहिलेपनि प्रतिक्रिया र षड्यन्त्रकै प्रक्रियामा छन् । त्यसकारण हामी राष्ट्रका, जनताका पक्षधर, क्रान्तिका पक्षधर, सबै शक्तिहरु एकजुट भएर त्यसको प्रतिवाद गर्ने कुरामा कहिँ, कतै हामीले रिल्याक्स गर्नुहुने स्थिति छैन । हामीले पुरै मेहनतका साथ अगाडि जानु छ । त्यसको निम्ति कम्युनिष्टहरु बीचको एकता सबभन्दा ठुलो कुरा हो । इमान्दार कम्युनिष्ट क्रान्तिकारीहरु बिचको बलियो एकताले नै प्रतिक्रान्ति विरोधी, क्रान्तिकारी आन्दोलनको नेतृत्वको भुमिका खेल्न सक्दछ । त्यसको नेतृत्व अन्र्तगत सबै देशभक्त, वामपन्थी, प्रगतिशील, सबै जनवादी शक्तिहरुलाई हामीले गोलवन्द गर्न सक्नुपर्दछ र मात्रै प्रतिक्रान्तिको आँधि या हुरीलाई रोक्न सकिन्छ । र क्रान्तिको एउटा नयाँ लहर सृष्टि गर्न सकिन्छ’ उनले भने ।

 

 

उनले अवसरवादीहरु पार्टी प्रवेशको नाउँमा गाउँमा केही मान्छेहरुको सिला खोज्दै हिँडेको टिप्पणी गरेका छन् । उनले आफ्नो पार्टीमा मानिसहरुको प्रवेश हुनुलाई सुनारको सय चोट लोहारको एकै चोट भन्ने उखानको उदाहरण दिदैँ लोहारको एक चोटको संज्ञा दिएका छन् ।  

 

 

‘हुन त अवसरवादीहरु अहिले गाउँ गाउँमा केही मान्छेको सिला खोज्दै हिड्ने ग¥या छन् । तपाईंहरुले देख्नुभयो होला । पार्टी प्रवेशका नाउँमा भन्दै गाउँ गाउँ तिर सिला खोज्दै । तर सुनारको सय चोट लोहारको एकै चोट भन्याजस्तो आज हामीले लोहारको चोट हान्यौँ । यो एकीकरण प्रक्रियाबाट कम्युनिष्ट आन्दोलनलाई एकीकरण गर्ने, कम्युनिष्ट आन्दोलनलाई विघटन र विर्सजन गर्न चाहाने अवसरवादी, विदेशी प्रतिक्रियावादीको अगाडी आत्मसर्मपण गर्ने तत्वहरुलाई एउटा चुनौती हामी यो हलबाट दिन चाहान्छौँ । तिमीहरुको षड्यन्त्र चल्ने छैन । नेपालका जनता, नेपालका क्रान्तिकारी कम्युनिष्टहरु सचेत छन् र सबैखाले चुनौतीको सामना गर्न तयार छन् । यो सन्देश यहाँबाट आज देशभरी र विश्वभरी प्रवाहित भएको छ’ उनले भने ।

 

 

उनले नेकपा (एमाले)ले धाक दिदैँ हिडेको भन्दै आगामी निर्वाचनमा उनीहरुको हालत जनताले देखाउने टिप्पणी गरेका छन् । 

 

 

‘आगो सँग खेल्ने दुस्साहस नगर्नु उचित हुन्छ भनेको थिएँ । के भयो आगोसँग खेल्दा ? वालुवाटारबाट बालकोट भयो । ६ वटै प्रदेशबाट मुख्यमन्त्री चट भयो । अहिले बडो धाक, धम्की लगाएर त हिडेका छन् । उनीहरु त्यो धाक, धम्की मात्रै हो । आउने निर्वाचनमा देखिने छ । कसको हालत के भयो र कसको हालत के हुने ? त्यो नेपाली जनताले देखाउने छन्’ उनले भने ।

 

 

उनले गठबन्धनका राजनीतिक दल र दलका नेताहरुसँग आफुहरुको कुनैपनि प्रकारको बैरभाव नरहेको बताएका छन् । माओवादीले गठबन्धनलाई बलियो बनाउन लगातार प्रयास गरिरहेको पनि उनले बताएका छन् । 

 

 

‘कुनै गठबन्धनका नेता र पार्टी सँग हाम्रो कसैसँग कुनै वैरभाव छैन । बरु त्यो गठबन्धनलाई बलियो बनाएर लानुपर्छ भन्ने हाम्रो विश्वास छ । र हाम्रो तर्फबाट त्यसको निम्ति लगातार प्रयास भएको छ । रहिरहने छ । हाम्रो आजको यो एकिकरण कार्यक्रमले गठबन्धनमा रहेका कुनैपनि पार्टी, नेता या संस्थालाई कुनै नकारात्मक असर पर्ने छैन भनेर म विश्वास व्यक्त गर्न चाहान्छु’ उनले भने ।

 

 

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) र नेकपा मसाल (सम्पर्क केन्द्र) बीच पार्टी एकीकरण भएको घोषणा गरिएको हो । नेकपा मसाल (सम्पर्क केन्द्र)को तर्फबाट नेतृत्व लोकेन्द्र लम्सालले गरेका हुन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै