Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

निर्वाचन आयोगको तयारी सन्तोषजनक भएनः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका लागि निर्वाचन आयोगको तयारी सन्तोषजनक नभएको बताएका छन् ।  शुक्रबार ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले निर्वाचनको लागि निर्वाचन आयोगको तयारी राम्रो नदेखिएको बताएका हुन् । 

 

जनताले निर्वाचन आयोगको तयारी थाहा नपाएको उनको भनाई छ । निर्वाचन आयोगले जनताले थाहा पाउने गरी समयमै निर्वाचन गर्न तयारी गर्नुपर्ने उनले बताए । 

 

‘निर्वाचन गर्नुपर्ने निकायले निर्वाचनको तयारी समयमा गर्नुपर्दछ । मैले ५ गते प्रतिनिधि सभा विघटन सिफारिस गरेर विघटन भएपछि ६ गते नै बिहान बोलाएर निर्वाचन आयोगलाई दुई महिना एक दिन  अघि नै अब निर्वाचनको तयारी गर्नुस् भन्या छु । मैले अस्ति गएर सोधे, तयारी गरिरहेका छौँ भन्नुभयो तर कार्यक्रम प्रकाशित भएको छैन । केही भएको छैन । के तयारी गर्दै हुनुहुन्छ त्यति राम्रो देखिएको छैन । जनतालाई निर्वाचन आयोगको तयारी त्यति थाहा पाएजस्तो लाग्दैन । जनताले थाहा पाउने गरी निर्वाचन आयोगले समयमै निर्वाचन गर्नेगरी, यहाँ कतिपय तत्वहरुले यो निर्वाचन घोषणा गरेको निर्वाचन गराउन होईन भन्ने आरोप लगाउन खोजेका छन् तर निर्वाचन गर्नका लागि र तोकिएकै मितिमा निर्वाचन गर्नका लागि निर्वाचनको मिति घोषणा गरिएको हो । त्यसका विरुद्ध कुनै प्रकारको षड्यन्त्र नहोस् भन्ने म चाहान्छु, प्रधानमन्त्री ओलीले भने । 

 


प्रधानमन्त्री ओलीले चुनाव गराउँदा संविधान नमिचिने दाबी गरे । ‘वैशाखमा चुनाव हुन्छ, सरकार बन्छ अनि संविधान कहाँ मिचियो ?’ उनले प्रश्न गरे । ‘चुनाव हुँदा संविधान मिचिन्छ, लोकतन्त्र समाप्त हुन्छ भने अब डेढ वर्ष पछि त लोकतन्त्र कुनै हालतमा बाच्ने भएन नि त नेपालमा ।’


प्रधानमन्त्री ओलीले चुनावले लोकतन्त्र समाप्त नहुने दाबी गरे । लोकतन्त्रविरुद्ध षड्यन्त्र हुन थाल्यो भने जनताको बिचमा जानुपर्ने उनको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै