
पाकिस्तानको सिन्धको सक्कर सहरमा सिन्धुनदीको बीचमा अवस्थित नेपाली साधुद्वारा निर्मित साधुवेलो मन्दिरको पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले दर्शन गरेका छन् ।
पाकिस्तानमा हिन्दुहरुको प्रमुख तीर्थस्थलको रुपमा परिचित उक्त मन्दिरको मंगलबार राजदूत अधिकारीले दर्शन गरेका हुन् ।
हिन्दु धर्मको उदासी सम्प्रदायका साधु वनखण्डी महाराजले स्थापना गरेका उक्त मन्दिर भएको द्वीपमा ८ वटा मन्दिरहरु, पुस्तकालय, भोजनालय एवं तीर्थयात्री एवं योगीहरुको अवासगृह रहेको पनि राजदूत अधिकारीले बताए ।
उक्त मन्दिरको स्थापना नेपालबाट सन् १८२३ मा गएका वनखण्डी महाराज नामक साधुले गरेको पाकिस्तानी हिन्दुहरुको मान्यता रहेको छ । मेनका पर्वतका रुपमा रहेको र जंगलमा साधुहरु बस्ने भएकाले सिन्धीभाषामा साधुवेलो नामले प्रचलित भएको पनि त्यहाँका स्थानीयहरुले बताए ।
पाकिस्तानको स्वतन्त्रता पश्चात उक्त मन्दिरका महन्तहरु भारत गएको भए तापनि वर्षको एकपटक उक्त मन्दिरमा आएर औपचारिकरुपमा मन्दिर खोल्ने र पर्व मनाउने गरिएको छ । भारत, नेपाललगायतका दक्षिण एसियाली मुलुुकका हिन्दूभक्तजनहरु दर्शनका लागि उक्त अवसरमा पुग्ने गरेको मन्दिरका व्यवस्थापन समितिले बताएको छ ।
हाल साधुवेलो मन्दिरको ११ औँ प्रमुख महन्तका रुपमा रहेका गौरीशंकर महाराज रहेका समितिले उल्लेख गरेको छ । उनी मुम्वईमा बस्ने गरेको पनि बताइएको छ । उनले मुम्बईबाट नै साधुवेलो मन्दिर र वनखण्डी महाराजका नाममा स्थापित डेड दर्जन जति धार्मिक, सांस्कृतिक, सामाजिक, शैक्षिक एवं अध्यात्मिक संस्थाहरुको नेतृत्व गर्ने बताइएको छ । साधुवेलो धामका वर्तमान महन्त गौरी शंकर महाराजका अनुसार वनखण्डी महाराज नेपालको मोरङमा धुनी जगाएर तपस्या गरी बसेको समितिको भनाइ छ ।
मन्दिरमा वनखण्डी महाराजको निर्वाणको दिन, शिवरात्री, होली, रामनवमी र कृष्णाष्टमी आदिका दिन ठूलो मेला लाग्ने हुनाले उक्त अवसरमा श्रद्धालुहरुको जमघट हुने गरेको बताइएको छ । साथै दैनिकरुपमा पनि स्थानीय हिन्दुहरु उक्त तीर्थस्थलमा आउने गरेको पनि समितिले उल्लेख गरेको छ ।
पाकिस्तान सरकारले अल्पसंख्यकको धार्मिक स्थल संरक्षण गर्न स्थापना भएको संस्था इभाक्यूई ट्रस्ट सम्पत्ति बोर्ड(ईटीपीबी) ले मन्दिर परिसरको सरसफाई, संरक्षण गर्ने गरेको पनि समितिले बताएको छ । उक्त संस्थाले नित्य पुजाका लागि पनि पुजारीको व्यवस्था गरेको पनि समितिले जानकारी दिएको छ ।
विराटनगरको देवकोटा चोकमा पनि वनखण्डी महाराजले महादेवको मन्दिर स्थापना गरेको र उक्त मन्दिरलाई वनखण्डी महादेवका रुपमा परिचित रहेको पनि राजदूत अधिकारीले बताए ।
साधुवेलो मन्दिरका व्यवस्थापन समितिका पदाधिकारीहरुले वनखण्डी महाराजले नेपालमा तपस्या गरेको स्थल एव महाराजसंग सम्बन्धित स्थानहरुको यात्रा गर्ने इच्छा व्यक्त गरेको पनि राजदूत अधिकारीले बताए ।
पाकिस्तानी हिन्दुहरु एवं साधुवेलोबाट संसारका विभिन्नस्थानमा गएर बसेका हिन्दुहरुको यस आस्था सम्बन्धित यात्रालाई व्यवस्थित गर्न सकेमा नेपालको धार्मिक पर्यटनमा एक नयां अध्याय थपिनुका साथै नेपाल÷पाकिस्तानबीचको सम्बन्धमा नयां आयाम आउने राजदूत अधिकारीको भनाइ छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit