
ल्याटिन अमेरिकी मुलुक चिलीमा ३५ वर्षीय विद्यार्थी नेता गेब्रियल बोरिक राष्ट्रपतिमा निर्वाचित भएका छन् ।
कूल मतको ५६ प्रतिशत मत पाएर उनी निर्वाचित भएपछि अहिले देशभरी खुशीयाली छाएको र दशौँ हजार मानिसले विजय जुलुश निकालेको विदेशी सञ्चार माध्यमहरुले जनाएका छन् । आन्दोलकारी कम्युनिष्ट नेताका रुपमा चर्चित उनी चिलिमा निर्वाचित भएका राष्ट्रपतिमध्ये सबैभन्दा कान्छो राष्ट्रपति हुन् ।
उनका प्रतिद्वन्द्वी तथा पुरातनवादी पार्टीका नेता जोस एन्टेनियो कास्टले भने ४४ प्रतिशत मात्रै मत पाएका थिए । उनका बीचमा १२ प्रतिशत मत अन्तर थियो । विश्वविद्यालयको शिक्षा निःशुल्क हुनुपर्ने मागसहित सन् २०११/१२ मा विद्यार्थीहरुले गरेको आन्दोलनमा उनी मुख्य आन्दोलनकारी थिए । त्यसपछि सन् २०१३ मा भएको तल्लो सदनको निर्वाचनमा उनले स्वतन्त्र उम्मेदवार बनेर जित हासिल गरेका थिए ।
त्यसैगरी सन् २०१७ मा पनि उनी सबैभन्दा धेरै मतसहित विजयी भएका थिए । अहिले फेरि सरकारविरुद्ध भएको व्यापक प्रदर्शनपछि राष्ट्रपतीय निर्वाचन भएको हो । निर्वाचनका बेलामा आफू निर्वाचित भएमा चिलीमा स्थिर अर्थव्यवस्था अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त पनि गरेका थिए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit