
अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विदेश संयोजक उज्रा जिया नेपाल भ्रमणमा आउने भएकी छिन् ।
शुक्रवार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गर्दै यसको जानकारी दिएको हो । परराष्ट्र मन्त्रालयका अनुसार अमेरिकी विदेश उपमन्त्रीको यो भ्रमण अमेरिकी अधिकारीको एक दशकपछिकै उच्चस्तरीय भ्रमण हो । विदेश उपमन्त्री जिया भारतको नयाँ दिल्ली हुँदै आज अपरान्ह नेपाल आउने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन् ।
प्रवक्ता लम्सालले तीन दिने नेपाल भ्रमणमा अमेरिकी विदेश उपमन्त्री जियाले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतका उच्च पदस्थ व्यक्तित्वहरुसँग भेट गर्ने कार्यतालिका रहेको बताउनु भयो । भेटमा दिव्पक्षीय सम्बन्धका विभिन्न आयाममा कुराकानी हुने प्रवक्ता लम्सालले बताइन् ।
प्रवक्ता लम्सालले जेठ २ गते नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच द्वीपक्षीय वार्ता सम्पन्न भएको बताइन् । उनले वार्तामा नेपाल–भारत सांस्कृतिक सम्बन्ध, शैक्षिक तथा प्राज्ञिक सम्बन्ध, नेपालको विकास निर्माणमा भारतको सहयोग, हवाई सेवा, व्यापार तथा वाणिज्य सम्बन्धका साथै उर्जा
क्षेत्रमा विकास र लगानीका महत्वपूर्ण छलफल भएको पनि जानकारी दिइन् ।
प्रवक्ता लम्सालले भारत नेपालबीच सो अवसरमा ६ वटा समझदारी पत्रमा हस्ताक्षर भएको बताइन् । लुम्बिनी भ्रमणका क्रममा पवित्र मायादेवी मन्दिरमा पूजा, अर्चना गर्नुका साथै लुम्बिनी गुम्बा परिषद्मा इण्डियन इन्टरनेशनल सेक्टर फर बुद्धिष्ट कल्चर एण्ड हेरिटेजको निर्माणका लागि संयुक्त रुपमा शिलान्यास र लुम्बिनी विकास कोषद्वारा आयोजित २५६६ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस समारोहलाई दुवै प्रधानमन्त्रीले सम्बोधन गरेका थिए ।
प्रवक्ता लम्सालले पछिल्लो समय पासपोर्टका काम नियमितरुपमा अघि बढिरहेको बताइन् । उनले अझै पनि पासपोर्टको व्यवस्थापन गर्ने कार्य जारी रहेकोले आगामी दिनमा थप सुदृढीकरण गर्नेमा जोड दिने स्पष्ट पारिन् ।
प्रवक्ता लम्सालले अहिलेसम्म ६९ वटा जिल्ला प्रशासन कार्यालय, १५ वटा इलाका प्रशासन कार्यालय र २६ वटा कूटनीतिक नियोगहरुबाट विद्युतीय राहदानी जारी कार्य शुरु भइसकेको पनि बताइन् ।
प्रवक्ता लम्सालले आउँदो जेठ १० गते परराष्ट्र मन्त्रालयले परराष्ट्र सेवा दिवस मनाउने बताइन् । मन्त्रालयले २०१८ साल जेठ १० गते विधिवत रुपमा परराष्ट्र सेवा गठन भएको उपलक्ष्यमा पहिलोपटक यो दिवस मनाउने भएको हो ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit