Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

महानगर र उपमहानगरमा गठबन्धनले टुङ्ग्यायो भागबन्डा 

सत्तारुढ गठबन्धनको बैठकले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाहरुको भागबन्डा टुंग्याएको छ । 

 

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको शीर्ष नेताको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा भागबन्डा गरेको हो । 

 

भागबन्डा अनुसार नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको प्रमुख पाएको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए । त्यसैगरी कांग्रेसले वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकामा भने उपप्रमुख पाएको छ ।

 

त्यस्तै धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकामा कांग्रेसले नै प्रमुख पाएको छ भने जितपुर सिमरा, घोराही र हेटौँडा उपमहानगरपालिकाको उपप्रमुख पनि कांग्रेसलाई दिइएको मन्त्री कार्कीले बताए ।

 

भागबन्डा अनुसार नेकपा(माओवादी केन्द्र)ले भरतपुर महानगरपालिकाको प्रमुख पाएको छ भने ललितपुर महानगरपालिकाको उपप्रमुख पाएको छ । त्यसैगरी जितपुर सिमरा र घोराही उपमहानगरपालिकाको प्रमुख पाउनुका साथै धरान र धनगढी उपमहानगरपालिकाको उपप्रमुख पाएको मन्त्री कार्कीले जानकारी दिए ।

 

नेकपा(एकीकृत समाजवादी)लाई पोखरा महानगरपालिकाको प्रमुख दिइएको छ भने काठमाडौं महानगरपालिकाको उपप्रमुख दिइएको छ । त्यस्तै हेटौडा उपमहानगरपालिकाको प्रमुख र इटहरी, बुटवल र तुलसिपुर उपमहानगरपालिकाको उपप्रमुख पनि एकीकृत समाजवादीलाई परेको छ ।

 

सत्तारुढ जनता समाजवादी पार्टी नेपाललाई वीरगञ्ज महानगरपालिकाको प्रमुख र विराटनगर महानगरपालिकाको उपप्रमुख भागमा परेको छ । त्यस्तै जनकपुर उपमहानगरपालिका प्रमुखका साथै कलैया र नेपालगञ्ज उपमहानगरपालिकाको उपप्रमुख पनि जसपा नेपालको भागमा परेको मन्त्री कार्कीले बताए ।

 

गठबन्धनले गठबन्धनले यसअघि नै जारी गरेको मापदण्ड, सहमतीको मर्म र भावना अनुसार सम्बन्धित समितिहरुको बैठक बसी अबिलम्ब सिट बाँडफाँड तथा उम्मेदवारको चयन गर्न निर्देशन पनि दिएको छ ।

 

सहमति हुन नसकेका ठाउँमा गठबन्धन भित्रैबाट प्रतिस्पर्धा गर्ने सहमझदारी बनेको कार्कीले बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै