
जनता समाजवादी पार्टी (जसपा) का सांसद उपेन्द्र यादवले नेपाल सरकारका कारण नेपालीहरुले नागरिकता पाउन नसकेको आरोप लगाएका छन् ।
शनिबार प्रतिनिधि सभामा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि छलफल गर्दै उनले नेपाली नागरिकलाई नागरिकता दिनुपर्ने सरकारको दायित्व पूरा हुन नसक्दा नेपाली नागरिकहरुले समस्या भोग्नुपरेको बताए ।
सांसद यादवले सरकारले नागरिकहरुलाई नागरिकता दिन नसक्दा नेपाली नागरिकका सन्तानहरु, राष्ट्रिय अधिकारविहीन भएर बाँच्न विवश रहेको बताए । उनले सरकारले नागरिकता विधेयक तत्त्काल पास गरेर नेपाली नागरिकलाई नागरिकताको समस्याबाट मुक्ति दिनुपर्ने बताए । सांसद यादवले संघीय निजामती ऐनलाई पारित गरेर संघीयतालाई कार्यान्वयनतर्फ अघि बढाउनुपर्ने बताए ।
यादवले मधेसमा निर्वाचन क्षेत्रहरुको पुनर्निधारण गर्नुपर्ने माग गरे ।
उनले निर्वाचन क्षेत्र तय गरिएको बेलाभन्दा अहिले जनघनत्व बढेकोले त्यसको पुनर्निर्धारण हुन आवश्यक रहेको बताए । उनले समानुपातिक समावेशिताको कुरालाई शासक वर्गले विशेष महत्व नदिएको बरु त्यसमा नै आफ्ना मान्छेहरु घुसाउने गरेको आरोप लगाए ।
सांसद यादवले सबै क्षेत्रमा आवश्यक मात्रामा बजेट छुट्याएर विकासलाई सन्तुलित ढंगले अघि बढाउनु पर्ने नीति लिन आवश्यक रहेको स्पष्ट पारे ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit