Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

आफ्नै कार्यकालमा मेलम्चीको पानी काठमाण्डौ बासीलाई खुवाउँछु : मन्त्री चौधरी

खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाण्डौ बासीलाई छिटोभन्दा छिटो मेलम्ची खानेपानीको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

 

उनले केही समयअघि आएको बाढि र पहिरोको कारणले गर्दा बन्द भएको मेलम्चीको पानी काठमाण्डौ बासीलाई अस्थायी रुपमा भएपनि छिटोभन्दा छिटो खान पाउने व्यवस्था मिलाउने बताएका छन् । चन्द्रलोक प्रतिष्ठानले शनिबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संविधानमा शुद्ध खानेपानी र सरसफाईलाई मौलिक हकको रुपमा व्यवस्था गरेको उल्लेख गर्दै आफ्नो कार्यकाल भित्रै काठमाण्डौ बासीका लागि मेलम्ची खानेपानीको व्यवस्था गर्ने बताएका छन् । 

 

 

‘मैले एउटा उद्देश्य पक्कै लिएको छु । आज मेलम्चीको खानेपानी काठमाडौंबासीले खाईरहनु भएको थियो । तर आज बाढिपहिरोको कारणले बन्द भएको छ । संविधानमा मौलिक हकको रुपमा शुद्ध खानेपानी र सरसफाई हरेक नागरिकको अधिकार भएको कारणले काठमाडौंबासीलाई यतिमात्रै म भन्न चाहन्छु–मेरो कार्यकालमा चाँडोभन्दा चाँडो मेलम्ची खानेपानी स्थायी त होईन् तत्काल अस्थायी भएपनि तुरुन्तै आफ्नै कार्यकालमा काठमाडौंबासीलाई खुवाउँछु भन्ने प्रतिवद्धता म व्यक्त गर्न चाहन्छु । आउँदो दिनमा मेलम्चीको खानेपानी तपाईहरुले अवश्य मेरै कार्यकालमा खान पाउनु हुनेछ भन्ने विश्वास दिलाउन चाहन्छु’ उनले भने ।

 

 

त्यस अवसरमा उनले देश र जनताका लागि काम गर्ने सामाजिक संघ, संस्थाहरुलाई सरकारले सक्दो सहयोग गर्ने आश्वासन समेत दिएका छन् । उनले चन्द्रलोक प्रतिष्ठानजस्ता सामाजिक संघ, संस्थाहरुले समाजमा योगदान पु-याएका व्यक्ति तथा संघ, संस्थाहरुलाई सम्मान गरेर राष्ट्र र जनताको हितमा काम गरिरहेको पनि बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै