Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

ओलीसँगको भेटपछि नेपालले भने– विवाद समाधान गर्न कार्यदल, राजीनामा दिँदैनौं

नेकपा एमालेले पार्टीभित्रको आन्तरिक विवाद मिलाउन कार्यदल गठन गर्ने भएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच बिहीबार भएको भेटघाटमा पार्टी भित्रको अन्तरविरोधमा समाधान खोज्न कार्यदल गठन गर्ने सहमति भएको हो ।

 

प्रधानमन्त्री ओलीसँगको भेटपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता नेपालले तत्कालका लागि राजीनामा दिन विषय टरेको र पार्टी भित्र देखिएको विवाद समाधान गर्न कार्यदल गठन गर्ने सहमति भएको जानकारी दिएका हुन् ।

 

उनले आफुले वैशाख २६ गते अध्यक्ष ओलीलाई पठाएको ६ बुँदे प्रस्तावमा छलफल भएको र सर्वोच्च अदालतको फैसला बमोजिम २०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई पुराई नयाँ ढंगले अघि बढाउने बारे छलफल भएको जानकारी दिए । उनले छलफल मिल्ने दिशामा अघि बढेको पनि बताए ।

 

उनले भने “हामी दुई जनाको बीचमा भेटघाट, कुराकानी भए । पार्टी भित्रको समस्याको बारेमा हामीले आफ्नो आफ्नो सोचाई राख्यौ । बैशाख २६ गते अध्यक्ष केपी ओलीलाई पठाएको पत्रमा ६ बुँदे  विषय मैले अघि सारेको थिएँ प्रस्ताव । त्यसमा छलफल गरियो । छलफल गरिसकेपछि फागुन २८ गते र त्यसपश्चात भएका निर्णयहरु फिर्ता गर्ने र सर्वोच्च अदालतको फैसला बमोजिम जेठ २ गतेको अवस्थामा पुराउने र पार्टीलाई नयाँ ढंगले अघि बढाउनका लागि हामीले कुन तरिका अबलम्बन गर्ने भन्ने बारेमा छलफल जारी राख्ने कुरा भएको छ । राजीनामा दुई चार दिनलाई टर्यो । कार्यदल बन्छ । मिल्ने दिशामा अगाडि बढ्न खोजिएको छ ।”

 

बिहीबार बिहान बसेको नेकपा एमाले स्थायी समिति बैठकले राष्ट्रिय राजनीतिमा र पार्टीभित्र महत्व राख्ने सम्पुर्ण विषयको निर्णय गर्ने अधिकार अध्यक्ष ओलीलाई दिएको थियो । साथै अन्तरपार्टी एकता र सुदृढीकरणका लागि आवश्यक निर्णय गर्ने अधिकार पनि अध्यक्ष ओलीलाई नै दिएको थियो । सोही बैठकले नेता नेपाल सहित ४ जना नेतामाथि लगाएको निलम्बन पनि फुकुवा गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै