
रुसका लागि प्रस्तावित राजदूत मिलन तुलाधरले आफूले दुई मुलुकबीचको राजनीतिक सम्बन्ध बढाउन पहल गर्ने कार्ययोजना प्रस्तुत गरेका छन् ।
बुधबार संसदीय सुनुवाई समितिको सिंहदरवारमा बसेको बैठकमा आफ्नो योग्यता, क्षमता र कार्ययोजना पेश गर्दै प्रस्तावित राजदुत तुलाधरले रुससँग राजनीतिक सम्बन्ध बढाउन मुख्य जोड दिने बताएका हुन् ।
उनले भारत र चीन दुवैसँग अत्यन्तै निकट सम्बन्ध कायम राख्न सफल रुससँग नेपालले पनि राजनीतिक सम्बन्ध बढाउँदा चीन र भारतसँगको सम्बन्धलाई अझै सन्तुलित बनाउन सघाउ पुग्ने पनि समितिमा उल्लेख गरे ।
नेपालले भारत र चीनसँगको सम्बन्धलाई सन्तुलित ढंगले अघि बढाएर जानुको विकल्प नभएको भन्दै प्रस्तावित राजदुत तुलाधरले त्यो सम्बन्धलाई अझ सुदृढ बनाउन रुससँगको सम्बन्ध जरुरी रहेको स्मरण गराए ।
‘रुस एउटा यस्तो देश हो, भारतसँग पनि अत्यन्त निकट सम्बन्ध छ । र, चीनसँग पनि उसको स्ट्राटिजिक रिलेसन छ । चीन र भारत दुवैसँग अत्यन्त निकट रहेर रुसले काम गरिराखेको छ । यसको अन्तराष्ट्रिय छवि के छ भने हिन्दु स्थानसँग पनि अत्यन्त राम्रो सम्बन्ध छ । चीनमा पनि एकदम राम्रो छ । त्यो भएकाले हामी नेपाल पनि चीन र भारतसँग मिलेरै जानुपर्ने देश हो । हामी यो भन्दा अलग भएर जान सक्दैनौं । चीन र भारतलाई सन्तुलन नराखिकन हामी जानै सक्दैनौं । त्यसरी सन्तुलन राख्दाखेरी हामीले रुससँग पनि सम्बन्ध राम्रो राख्नुपर्ने जरुरी देखिन्छ । रुससँगको सम्बन्धलाई राजनीतिक रुपमा यसरी हेर्न सकिन्छ । राजनीतिक सम्बन्ध बढाउन पहल गर्नेछु,’ उनले भने ।
प्रस्तावित राजदूत तुलाधरले रुसको पर्यटक भित्र्याउन र नेपालको हस्तकलाका बस्तुहरु निर्यात गरेर निर्यात व्यापारमा योगदान पु¥याउन पनि आफू लागिपर्ने बताए ।
त्यसैगरी बैठकमा स्पेनका लागि प्रस्तावित राजदुत शर्मिला पराजुली ढकालले आफूले राजदूतको रुपमा कुनै पनि गलत काम नगर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
ओमानमा राजदूतको जिम्मेवारी लिँदा आफूले कुनै गल्ती नगरेको उल्लेख गर्दै उनले स्पेनमा पनि राजदुतको रुपमा कुनै पनि गल्ती नगर्ने प्रष्ट पारिन् ।
ढकालले देश र जनताप्रति उत्तरदायी भएर लिइएको राजदूतको जिम्मेवारीलाई आफूले अन्यथा ठाउँमा दूरुपयोग गर्न नमिल्ने समेत बताइन् । ‘अब हाम्रो फोकस भनेको हाई स्किल वर्कर हुनुपर्छ भन्ने नै हो । ओमानमा नेपालबाट डक्टर्सहरु जान थालिसकेका छन । आफूले कहिल्यै पनि गलत काम गर्ने छैन । देश र जनताप्रति यतिधेरै उत्तरदायी भएपछि अन्यथा गर्ने कुरै हुँदैन,’ ढकालले भनिन् ।
ढकालले हाई स्किल वर्करको व्यवस्थापनको कामलाई आफूले जोड दिने योजना पनि समितिमा पेश गरिन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit