
अमेरिकाले नेपाल सरकारलाई कोभिड – १९ विरुद्धको १५ लाख भन्दा बढी मात्रा खोप अनुदान सहयोग दिएको छ । अमेरिकाले अनुदान सहयोग दिएको १५ लाख ३४ हजार ८५० मात्रा जोन्सन एन्ड जोन्सन खोप सोमबार नेपाल आइपुगेको हो ।
अमेरिकी सरकारले कोभिड–१९ विरुद्ध १५ लाख मात्रा खोप सहयोगस्वरुप आज नेपाललाई हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले आजै यहाँ आइपुगेको जोन्सन एण्ड जोन्सन खोप हस्तान्तरण गरे ।
नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक कार्यक्रममा विच स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठलाई अमेरिकी सरकारले कोभ्याक्स सुविधा अन्तर्गत नेपाल सरकारलाई दिइएको जोन्सन एन्ड जोन्सन खोपको खेप औपचारिक रुपमा जिम्मा लगाएका हुन् ।
कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री श्रेष्ठले अमेरिका सरकारले नेपाललाई दिएको खोप नेपाली जनताको जीवन रक्षाका लागि बरदानस्वरुप हुने बताए । प्राप्त भएको खोप प्राथमिकताको आधारमा जोखिम समुहलाई दिनेगरी छिट्टै खोप अभियान सञ्चालन गरिने उनले बताए ।
‘आज प्राप्त भएको खोप प्राथमिकताको आधारमा जोखिम समुहका व्यक्तिहरुलाई तथा ५० देखि ५४ वर्ष उमेर समुहका व्यक्तिहरुलाई लगाउने गरी योजना बनाएका छौँ । यसका लागि स्वास्थ्य सेवा विभागको प्राविधिक टोली तयारीमा जुटेको छ
। छिट्टै खोप अभियान सञ्चालन गरीनेछ, उनले भने ।’
मन्त्री श्रेष्ठले कोभिड – १९ संक्रमणको सुरुवाती चरणदेखि नै अमेरिकी सरकारले भेन्टीलेटर, परिक्षण किट, व्यक्तिगत सुरक्षा सामग्री लगायतको सहयोग गरेको भन्दै अमेरिकी सरकार, जनता र दूतावासप्रति आभार व्यक्त गरे ।
खोप सहयोग हस्तान्तरण गर्दै नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले खोप अमेरिकी जनताको तर्फबाट उपहार स्वरुप दिएको बताए । अमेरिकी सरकारले खोप कुनै काम लिन वा सुविधा पाउनका लागि नदिएको उनले स्पष्ट पारे ।
नागरिकको जीवनरक्षाका लागि खोप सहयोग दिइएको उनले बताए । ‘यो अमेरिकी जनताको तर्फबाट उपहार हो । आज आइपुगेको एक मात्रा मात्र लगाए पुग्ने यो खोप नेपालको १५ लाख भन्दा बढी मानिसहरुलाई कोभिड–१९ को घातक प्रभावबाट जोगाउनको निम्ति पर्याप्त हुनेछ । हामीले यो खोप कुनै काम लिन वा सुविधा पाउनका लागि दिएका होइनौँ । हाम्रो खोपमा कुनै स्वार्थ लुकेको छैन । हाम्रा शर्तह खुला र पारदर्शी छन् ः जीवनरक्षाको एक मात्र उद्देश्यसहित हामीले यो काम गरेका हौँ, राजदूत बेरीले भने ।’
राजदूत बेरीले कोभिड–१९ को प्रतिकार्यका लागि अमेरिकी सरकारले नेपाल सरकारलाई हालसम्म ७ करोड डलर भन्दा बढी सहयोग गरिसकेको पनि उल्लेख गरे । आगामी दिनमा पनि नेपाली जनताको जीवन रक्षाको लागि अमेरिकी सरकार साथमै रहेको उनले बताए । प्राप्त भएको जोन्सन एन्ड जोन्सन खोप एक मात्रा मात्रै लगाए पुग्ने बताइएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit