Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

बजेट अधिवेशन सौहार्दपूर्णरुपमा सञ्चालन गर्न राजनीतिक दललाई सभामुखको आग्रह 

फाइल तस्वीर

सभामुख अग्निप्रसाद सापकोटाले संसदको बजेट अधिवेशनलाई सौहार्दपूर्ण ढंगले सञ्चालन गर्न राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । 

 


सोमबार संसद भवन अवलोकनका लागि नयाँ बानेश्वर पुगेका सापकोटाले सञ्चारकर्मीसँगको कुराकानीमा मंगलबारदेखि सुरु हुने संसदको अधिवेशनलाई सौहार्दपूर्ण ढंगले सञ्चालन गर्न राजनीतिक दलहरुलाई अपील गरेका हुन् । 

 


उनले आफ्नो कुराकानी नभए पनि कानूनमन्त्रीले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङसँग कुराकानी गरिरहेको जानकारी पाएको बताए । सभामुख सापकोटाले जेठ १५ गते अनिवार्यरुपमा बजेट ल्याउनुपर्ने भएकाले यस सम्बन्धमा राजनीतिक दलहरुका बिचमा समझदारी बन्ने विश्वास व्यक्त गरे । 

 


सभामुख सापकोटाले बजेट अधिवेशन मूलरुपमा बजेटमै केन्द्रित हुने बताए । सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिदैँ उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लागेको महाअभियोगको प्रस्तावमाथि बजेट पारित भइसकेपछि मात्रै छलफल हुने बताए । 

 


उनले सर्वसम्मत भइसकेको विधेयकलाई अघि बढाउन राजनीतिक दलहरुका बीचमा समझदारी भए त्यसलाई अघि बढाउन संसद सचिवालय तयार रहेको स्पष्ट बताए । 

 


संघीय संसदको बजेट अधिवेशन मंगलबार अपरान्ह ४ बजे बस्ने गरी आह्वान गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै