
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा जित सुनिश्चित गराउने काममा ध्यान केन्द्रित गर्न पार्टीको सिंगो पंक्तिलाई आह्वान गरेका छन् ।
शनिबार भक्तपुरको गट्ठाघरमा सुरु भएको पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले पार्टीमा अन्य पार्टीबाट प्रवेश गर्नेहरुको लहर ल्याउने र आगामी निर्वाचनमा पार्टीको विजय सुनिश्चित हुने गरी जनताको बीचमा पुग्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएका छन् । उनले जनता आफ्नो पार्टीको साथमा रहेकाले आगामी निर्वाचनमा विजयी हुनका लागि पार्टीले कुनै पनि मोर्चाबन्दी गरिरहन नपर्ने दाबी समेत गरेका छन् । उनले आगामी निर्वाचनलाई ध्यानमा राखेर सुदुढ र विस्तृत संगठन निर्माणको काममा ढिलाई गर्न नहुने स्पष्ट पारेका छन् ।
उनले पार्टीका नेताहरुलाई हरेक वडा तहमा जाँदा पनि त्यहाँको पाँच मुख्य कामबारे जानकारी लिएर आउन कडा निर्देशन दिएका छन् । जनताको चाहना अनुसार विकास, निर्माणको कामलाई अघि बढाउन हाम्रो पार्टीले अब सबै तहमा जाँदा त्यहाँको मुख्य मुख्य पाँच कामबारे जनतालाई सोधेर आउनुपर्ने, त्यसरी आउँदा मात्रै आगामी दिनमा जनताको चाहना अनुसार पार्टीेले काम गर्न सक्ने उनको भनाइ थियो ।
‘नेताहरुलाई जनताको बीचमा जाँदा जनता पार्टीमा प्रवेश गर्नेहरुको लहर नै ल्याउँछौं । ताजा जनादेशमा जाने कुरामा हाम्रो ध्यान जानेछ । यी कुरालाई ध्यानमा राखेर हाम्रो विजयलाई सुनिश्चित बनाउन हामी अत्यन्तै संगठित र सक्रिय भएर जनताको बीचमा जानुपर्छ । र हाम्रो पार्टी सुदृढ र विस्तृत बनाउनु पर्छ । र कुनै मोर्चास्वर्चा सँग गठबन्धन गरिरहनु पर्र्दैन । जनता हाम्रो साथमा छ । जनताको साथमा हामी छौं । जनताको सेवकको रुपमा जनताको बीचमा पुगेर जनताका समस्या बुझ्ने काम हामी गर्छौं । यसपछि हामी जनताका बीचमा केही प्रश्नहरु पनि लिएर जान्छौं । स्थानीय तहहरुमा, हामीले त्यस ठाउँमा, त्यस वडामा पाँच वटा गर्नुपर्ने अरु कामहरु के हुन ? के हुनुपर्छ ? भन्ने जनता चाहन्छ ? ती प्रश्नहरु लिएर जान्छौं, जसबाट भोलीका निम्ति विकास निर्माण गर्दा कुनकुन आयोजना कसरी राख्नुपर्ने रहेछ ? ती कहाकहाँ रहेछ भन्ने हामी थाहा पाउँछौं’ उनले भने ।
‘हामीले प्रश्न सोध्नुपर्छ यस वडामा हामीे पाँच वटा महत्वपूर्ण काम के के गर्नुपर्छ ? यस पालिकामा महत्वपूर्ण पाँच वटा काम के के हुन ? यस प्रदेश निर्वाचन क्षेत्रमा महत्वपूर्ण काम पाँच वटा के हुन ? अथवा यस संसदीय निर्वाचनको क्षेत्रमा पाँच वटा महत्वपूर्ण काम के के हुनुपर्छ ? यस जिल्लामा सर्वाधिक महत्वका पाँच वटा काम के गर्नुपर्छ ? र यस प्रदेशमा सर्वाधिक महत्वका पाँच वटा काम के गर्नुपर्छ ? यस हिसावले प्रश्नहरु नै लिएर के चाहन्छ जनता ? पाँच वटा काम के हुन ? वडाका के हुन ? पालिकाका के हुन ? प्रदेशसभा निर्वाचन क्षेत्र र निर्वाचन क्षेत्रका के हुन ? जिल्लाका के हुन ? यी प्रश्नहरु हामी जनताका बीचमा सोध्ने छौं । यसबाट जनताका विकासका चाहना हामी बुझ्नेछौं । यस्ता अनेक हिसावले हामी जनताका बीचमा जान्छौं । जनताका पीरमर्कादेखि, जनताको विकास, निर्माणको चाहना, सुशासनका क्षेत्रमा के गर्नुपर्छ भन्ने जस्ता कुराहरु पनि हामी जनताको बीचमा लिएर जान्छौं । त्यस अनुसार हामी काम गर्छौं । किनभने हामी जनताका सेवक हौं । जनताको सेवा गर्नु हाम्रो कर्तव्य हो’ उनले भने ।
उनले पार्टी मातहतका सबै जनवर्गीय संगठनहरुलाई अबिलम्ब अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्न निर्देशन दिएका छन् । उनले अधिवेशन नभई जनवर्गीय संगठनहरुको नेतृत्व परिवर्तनको काम भएकाले अब छिटोभन्दा छिटो अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्दा मात्रै जनवर्गीय संगठनहरु कामकाजी हुने स्पष्ट पारेका छन् । उनले पार्टीको चालु केन्द्रीय कमिटी बैठकले कार्य विभाजन पनि गर्ने भएकाले पाएको जिम्मेवारी तीव्रताका साथ पूरा गर्न नेताहरुलाई सचेत गराएका छन् ।
यस्तै, आज उक्त बैठकद्वारा नेकपा एमालेका नेता अमृतकुमार बोहोरालाई पार्टीको केन्द्रीय सल्लाहकार परिषदको अध्यक्ष चयन गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा नेता बोहोरा सो परिषदको अध्यक्षमा चयन भएका हुन् । अध्यक्षमा चयन भएलगत्तै उनले अध्यक्ष ओलीबाट पद तथा गोपनीयताको सपथ लिएका छन् ।
पूर्वमन्त्री समेत भएका बोहोरा ७० वर्षे उमेर हदका कारण पार्टीको केन्द्रीय कमिटीमा नेतृत्वका लागि दाबी गर्न पाएका थिएनन् । नवौं महाधिवेशनमा उनी पार्टीको केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा निर्वाचित भएका थिए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit