Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

भारतीय दूतावासको सहयोगमा त्रिविमा केन्द्रीय पुस्तकालय निर्माण हुने

भारतीय राजदूतावासको सहयोगमा त्रिभुवन विश्वविद्यालयमा केन्द्रीय पुस्तकालय निर्माण हुने भएको छ । 

 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त रुपमा आज पुस्तकालय भवनको भूमिपूजन गरेका छन् । 

 

भारत सरकारको ५० मिलियन अमेरिकी डलर अनुदानमा पुस्तकालय निर्माण हुनेछ । कार्यक्रममा  त्रिविका वरिष्ठ अधिकारी, दूतावासका प्रतिनिधि, केन्द्रीय परियोजना कार्यान्वयन इकाई लगायत अन्य सरोकारवाला उपस्थित थिए । 

 

परियोजनाको कार्यान्वयनका लागि शिक्षा र भारतीय राजदूतावासबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । ३१ दशमलव ६९ करोड रुपैयाँको लागतमा सरकारले निर्धारण गरेको भूकम्पप्रतिरोधी पुनर्निर्माण मापदण्ड अनुरुप पुस्तकालयको निर्माण हुनेछ । 

 

यसरी निर्माण हुने तीनतल्ले भवनमा आधुनिक सुविधालगायत अतिरिक्त सुविधा सहितको विभिन्न प्राज्ञिक शाखाहरु हुनेछन् ।  भूकम्पप्रतिरोधी पुनर्निर्माणको क्षेत्रमा काम गर्ने भारतको प्रमुख संस्था केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआइ) ले पुस्तकालय निर्माणका लागि प्राविधिक सहयोग गर्ने दूतावासले जनाएको छ । 

 

राजदूत क्वात्राले यो परियोजना भारत र नेपालबीचको बहुपक्षीय एवम् बलियो विकास साझेदारीको प्रमाण भएको बताए । उनले नेपालको सामाजिक एवम् आर्थिक विकासका लागि नेपाल सरकारसँग भारतले निरन्तर हातेमालो गर्ने बताए ।

 

भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले नेपाल सरकारलाई २५० मिलियन अमेरिकी डलर अनुदान प्रदान गर्ने प्रतिबद्धता गरेको छ । सो रकममध्ये ५० मिलियन डलर शिक्षाको क्षेत्रमा खर्च हुनेछ । 

 

हाल नेपालका आठ जिल्लामा ७१ वटा शैक्षिक संस्थाको निर्माण भइरहेको छ जसमध्ये १४ वटाको निर्माण सम्पन्न भई हस्तान्तरण भइसकेको छ भने बाँकीको निर्माण कार्य अघि बढिरहेको दूतावासले जनाएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै