Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

नेतृत्वले आफ्ना मान्छेलाई छान्दा पार्टीलाई असर : प्रकाशमान सिंह

फाइल तस्बिर

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी नेतृत्वले आफ्ना मान्छेलाई छान्दा समग्र पार्टीलाई असर परिरहेको बताएका छन् । 

 

मंगलबार नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रवि सिंहसहितका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नेता सिंहले यस्तो बताएका हुन् । 

 

हरेक निर्वाचनमा चाप्लुसी गर्ने व्यक्तिहरुले उम्मेदवारी पाउने गरेकोप्रति लक्षित गर्दै आफ्ना मान्छेहरुलाई स्थानीय तह, प्रदेश तथा संघीय निर्वाचनमा उम्मेदवार बनाउने परिपाटीका कारण सिंगो पार्टीलाई असर परिरहेको बताए । नेता सिंहले नेपाली कांग्रेसले स्थानीय तहको लागि निर्वाचनमा उम्मेदवार छनोट गर्दा पार्टीको विधान र नियमावलीलाई पालना गर्न आवश्यक रहेको पनि बताए । 

 

नेता सिंहले स्थानीय तहको निर्वाचनमा हरेक वडा तथा पालिकामा उम्मेदवार छनोट गर्दा सकेसम्म सर्वसम्मत हुनुपर्ने र सर्वसम्मत हुन नसके वडा तथा पालिकाहरुमा छाप छोडेको व्यक्तिलाई उम्मेदवारमा छनोट गर्नुपर्ने धारणा राखे ।

 

‘वैशाख ३० गते स्थानीय निर्वाचनको डेट फिक्स भइसकेको छ । अहिले नेपाली कांग्रेस पार्टीको संगठन नै देशव्यापी रुपमा ६ हजार ७४३ वटा वडा समितिदेखि लिएर ७५३ वटा पालिकाहरुमा फोकसिङ गरेर राष्ट्रिय अभियान सुरु भइसकेको छ । ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ’ भन्ने अभियान सुरु भइसकेको छ । यसमा पार्टीका सबै नेता कार्यकर्ताले यस पटक आउने स्थानीय निर्वाचन संघीयतालाई कार्यान्वयनमा लैजानको लागि र संघीय, प्रान्तीय सरकार र स्थानीय सरकारको महत्व हो जनतासमक्ष पु¥याउनको लागि यो महत्वपूर्ण निर्वाचन हुन गइरहेको कारणले गर्दा यसमा कांग्रेसले उम्मेदवार सेलेक्शन गर्दा पार्टीको विधान, नियमावलीको बाटो देखाएको छ । वडा वडाबाट, टोलटोलबाट वडालाई उम्मेदवार छान्दा कांग्रेसी सबैले विधानले भनेका कुराहरुलाई पालना सबैले गर्नुपर्छ,’ उनले भने । 

 

‘सिफारिस गर्दा एक महिलासहित ३ जना सम्भावित उम्मेदवारहरुलाई  सिफारिस गर्नुपर्छ भन्छ वडा लेभलदेखि लिएर । कांग्रेसमा देखा परेको कस्तो हो भने कोही सबैको प्रियपात्र हुन खोज्ने, विधि विधानअनुसार पालना नगराउने, भन्ने तीन जनाको सिफारिस १५÷२० जना पठाएपछि कहाँबाट राम्रोसँग हुन्छ । त्यसकारण पार्टीको विधानले जे भनेको छ, सिफारिस गर्ने कमिटीले १ महिलासहित तीन, सर्वसम्मत भए सर्वसम्मतबाट नभए तीन जनाको नाम सिफारिस गर्ने, समितिहरु, इकाईहरु त्यसमा केन्द्रित भयो भने राम्रो हुन्छ । अर्को कुरा उम्मेदवार हुनको लागि पहिला संगठनमा काम गरेको हुनुपर्छ । वर्कसहरुले चिनेको हुनुपर्छ।  चुनावमा जाँदा पनि पब्लिकसँग जुन वडामा उठ्ने हो त्यो वडामा भिजेको मान्छे त हुनुप¥यो नि । यो खालि विधि प्रक्रिया पूरा गरेर पब्लिकले नचिनेको मान्छे परेमा गाह्रो हुन्छ पार्टीलाई,’ सिंहले भने ।

 

नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचत अध्यक्ष रवि सिंहले नेपाली कांग्रेसको नेतृत्वको सरकार बनेपछि निर्माण व्यवसायीहरुले राहत महशुस गरेको बताए । उनले आफूले निर्माण व्यवसायीहरुको हकहितका लागि काम गर्ने र निर्माण क्षेत्रमा रहेका विकृतिहरुलाई समाधान गर्ने पनि बताए ।

 

अध्यक्ष सिंहले गत कार्यकालमा भन्दा नयाँ कार्यकालमा आफूले निर्माणका काममा गरेको अठोटलाई पूरा गर्ने प्रतिबद्धता जनाए । उनले कोरोनाको कारण अस्तव्यस्त बनेको निर्माण उद्योगलाई सही बाटोमा ल्याउन अबका दिनमा तीव्र गतिमा काम अघि बढाउने बताए ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै