Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

सिंहदरबारमा कालो बेलुन उडाएर सरकारविरुद्ध युवा संघको विरोध

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन र तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दवाव दिँदै आएको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)मा आवद्ध राष्ट्रिय युवा संघ नेपालले आईतबार पनि विरोध प्रदर्शन गरेको छ ।

 

कालो बेलुन सिंहदरवार छेउमा उडाएर राष्ट्रिय युवा संघ नेपालले सरकारलाई पेट्रालियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता गर्न र स्थानीय तह निर्वाचनको मिति तत्काल घोषणा गर्न सरकारलाई दवाव दिएको हो । संविधान विपरित स्थानीय तहलाई रिक्त बनाउने नियतका साथ सरकारले स्थानीय तहको निर्वाचनको मिति समेत घोषणा नगरेपछि त्यसको विरोधस्वरुप आज कालो बेलुन सिंहदरबार भित्र पुग्ने गरी उडाउने काम गर्नु परेको संघका निवर्तमान महासचिव रमेश आचार्यले जानकारी दिए । 

 

उनले संविधानको रक्षा गर्न र लोकतन्त्रको सुदृढिकरणका लागि पनि स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा गर्न सरकारलाई दवाव दिने कामलाई तीव्रता दिइएको बताए । 

 

‘२०७९ साल जेठ ५ गते स्थानीय तह जनप्रतिनिधिबिहीन बन्दैछ । तर यो सरकारले अहिलेसम्म स्थानीय तहको निर्वाचन घोषणा गर्ने सुरसार गरेको छैन । यो स्थानीय तहलाई रिक्त बनाउन खोज्नु भनेको संविधानलाई कुल्चनु हो । संविधानलाई च्यात्नु हो । लोकतन्त्रलाई धुजाधुजा बनाउनु हो । त्यसकारण संविधानको रक्षाका लागि, लोकतन्त्रको सुदृढिकरणका लागि हामीले स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा गर्नुप¥यो भनेर आज कालो बेलुन उडाएका छौं,’ आचार्यले भने ।

 

प्रदर्शनका क्रममा युवा संघ, नेपालमा आवद्ध आधा दर्जन नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । युवा संघ, नेपालले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न र पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकारलाई दवाव दिने भन्दै मन्त्रीहरुलाई कालो झण्डा देखाउनेलगायतका सडक प्रर्दशनको कामलाई निरन्तरता दिँदै आएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै