Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

बिपी कोइरालाको जीवनीमा आधारित ‘राजद्रोही राजनेता’ डकुमेण्ट्री प्रदर्शन

सुशील कोइराला मेमोरियल फाउन्डेसन र अन्वेषण न्युज डटकमको सहकार्यमा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जीवनीका घटनामा आधारित ‘राजद्रोही राजनेता’ वृत्तचित्र निर्माण गरिएको छ । 

 

डकुमेण्ट्रीमा कोइराला आफूमाथि लागेका ८ राजद्रोहसम्बन्धी मुद्दाको प्रवाह नगरी स्वदेश फर्किएको र जनमत संग्रहको घोषणा भएको कुरा उल्लेख गरिएको छ । स्वदेश फर्किएपछि कसरी बिपी राजनेता बन्न सफल भए भन्ने कुरा पनि डकुमेण्ट्रीमा देखाइएको छ । 

 

नेपालको स्वाधीनता कसरी जोगियो भन्ने बारेमा पनि यस डकुमेण्ट्रीमा उतारिएको छ । वृत्तचित्रमा विसं २०३१ देखि २०३६ सम्मका घटना समेटिएको छ ।

 

करिब छ वर्ष लगाएर वृत्तचित्र तयार गरिएको अन्वेषण न्युज डट कमका प्रधानसम्पादक जगत नेपालले जानकारी दिए । वृत्तचित्रमा बिपी, गणेशमानलगायत नेतामाथिको राजद्रोहको मुद्दाको फैसला गर्ने न्यायाधीश जनकमान श्रेष्ठ, पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट, बिपीको चिकित्सकका रुपमा काम गरेका डा. मृगेन्द्रराज पाण्डे, पूर्वअञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठ, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलगायतको स्वर सङ्कलन गरिएकाले जीवन्त छ ।

 

विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर नेपाल फर्कँदा साथमै रहेका नेताहरु खुमबहादुर र नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाइँलगायतको भनाइ पनि वृत्तचित्रमा समेटिएको छ । हाल उनीहरुको निधन भइसके पनि यसअघि नै भनाइ लिइएको थियो ।  

 

बिपीलगायत नेताहरु मेलमिलापको नीति लिएर फर्कनुअघि उहाँलाई नेपालको राष्ट्रपतिको अफर गरिएकामा देश बचाउन पद कसरी छोडेको भन्ने पनि देखाइएको प्रधानसम्पादक नेपालले बताए । 

 

डकुमेण्ट्री हेरेपछि नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले दक्षिण एशियामा भारत सोभियत गठबन्धनले साना मुलुकहरुमाथि ठूलो खतरा पैदा गरेको अवस्था र जसका काण नेपालको मानचित्र नै परिवर्तन भएको बेलामा बिपीले चालेका कदमको प्रशंसा गरे । 

उनले बिपीको उक्त कदमलाई नेपालको लोकतान्त्रिक आन्दोलनको साहसिक कदमका रुपमा चित्रण गरे । खनालले त्यो बेलामा वामपन्थी कम्युनिष्टहरुले पनि आन्दोलनमा सहयोग गरिरहेको कुरा डकुमेण्ट्रीमा समावेश गरेको भए सुनमा सुगन्ध हुने धारणा राखे ।

 

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले इतिहासको कालखण्डलाई सम्झाउन यो डकुमेण्ट्री अतिउपयोगी भएको बताए । उनले यो डकुमेण्ट्रीलाई हेरेर राजनीतिक व्यक्तित्वहरुले नेपालको भविष्य कतातिर जाँदै छ भन्ने कुरा बताउन सक्ने जिकिर गरे । नेता कोइरालाले यो हरेक नेपालीले हेर्नुपर्ने डकुमेण्ट्री भएको बताए ।

 

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले यस डकुमेण्ट्रीमा बिपी कोईरालाको नेपाल प्रवेशपछि जनमतसंग्रहसम्मका घटनाक्रमहरुलाई समेटिएको र यसले इतिहासको संरक्षण भएको बताए । 

 

राजनीतिक विश्लेषक डा. राम थपलियाले बिपीले जहिल्यै सत्य, न्याय, प्रेम र यथार्थतालाई अंगालेको बताए । सशस्त्र प्रहरी बलका पूर्व प्रमुख सनत बस्नेतले यो डकुमेण्ट्रीबाट राजनीतिमा नैतिकता धेरै बलियो हुन्छ भन्ने सन्देश दिइएको र अहिलेका राजनीतिज्ञहरुले यसबाट धेरै कुरा बुझ्न सक्ने धारणा राखे । 

 

राजनीतिकर्मी डा. शिवजी यादवले यो डकुमेण्ट्रीले नेपालमा नौलो आयाम थपेको बताए । अहिलेका राजनीतिक कर्मीहरुले यस डकुमेण्ट्रीबाट सिकेर अघि बढ्न आवश्यक रहेको उनले औंल्याए ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै