Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

राष्ट्रपति भण्डारीले गरिन् काष्ठमण्डपको उद्घाटन 

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार पुरातात्विक महत्वको ऐतिहासिक सम्पदा काष्ठमण्डपको उद्घाटन गरेकी छिन् ।

 

एक कार्यक्रमका बीच लोकार्पण गर्दै उनले काठमाडौं उपत्यकालाई विश्वमा नै प्रकृति र संस्कृतिको संगम थलोको रुपमा मानिएको बताएकी छिन् । 

 


उनले जनप्रतिनिधिहरुले आफूलाई सदैव जनताको सेवामा समर्पित गर्नुपर्ने उल्लेख गरेकी छिन् । 

 


त्यसका साथै काठमाडौं उपत्यकाको वातावरणको संरक्षण हुनेगरी भौतिक निर्माण र पूर्वाधार विकासको कामलाई अघि बढाउन पनि उनले जनप्रतिनिधिलाई आग्रह गरेकी छिन् । 

 


राष्ट्रपति भण्डारीले प्रकृतिको संरक्षण हुने गरी विकास, निर्माणको कामलाई अघि बढाउनु सम्बन्धित पक्षले विशेष महत्व दिनुपर्नेमा पनि जोड दिएकी छिन्।  त्यसैगरी काठमाडौं उपत्यकाको हरियाली प्रवद्र्धन गर्ने, पानीमा मूल बचाउने र जैविक विविधताको रक्षा गर्ने कार्यमा पनि जोड दिनुपर्ने राष्ट्रपति भण्डारीको भनाइ थियो ।

 

उनले काष्ठमण्डप पुनर्निर्माणको काममा योगदान दिएको भन्दै काठमाडौं महानगरपालिका, पुरातत्व विभाग, सम्पदाविद् र स्थानीयबासीलाई पनि धन्यवाद दिइन् । 

 

राष्ट्रपति भण्डारीले आफ्नै स्रोत, साधन र सीपको परिचालन गरी काष्ठमण्डप पुनर्निर्माणको काम गर्नु राष्ट्रकै लागि खुशीको विषय भएको बताइन्। 

 


कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सबै सम्पदाप्रेमीहरु उत्साहित हुने गरी आफूहरुले सम्पदा पुनर्निर्माणको कामलाई अघि बढाएको दावी गरे । उनले काष्ठमण्डप पुनर्निर्माणको क्रममा देखिएको विवाद समाधानका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै संस्कृतिविद् सत्यमोहन जोशीप्रति पनि आभार व्यक्त गरे ।

 
सम्पदाहरुको पुनर्निर्माणका लागि स्थानीयबासीको सहयोग उल्लेखनीय रहेको शाक्यको भनाइ छ।  उनले २०७२ सालको भूकम्पले क्षति पुर्‍याएको बाँकी सम्पदाको पुनर्निर्माणको काम पनि छिट्टै सम्पन्न गर्ने आश्वासन दिए । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै