Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

देशका लागि कस्तो छ २०७९ साल ?

२०७९ साल नेपालका लागि मध्यम किसिमको ग्रहगोचर रहेको ज्योतिषविद्हरुले बताएका छन् ।

 

नल नामको संवत्सर रहेको २०७९ साल राजा शनि र मन्त्री बृहस्पति छन् । यस वर्षको सामाजिक, आर्थिक, राजनीतिक समग्रमा त्यति राम्रो नभएको ज्योतिषाचार्य हरि सोडारीले बताए । उनकाअनुसार यस वर्ष न्यायको क्षेत्रमा केही सुधार देखिने भए पनि साउन १२ गतेबाट कार्तिक ३ गतेसम्म राजा र मन्त्री दुवै ग्रह वक्र रहने भएकोले सरकार कमजोर रहनेछ ।

 

यस अवधिमा बाहिरबाट हेर्दा सरकारले न्याय गरेको देखिए पनि आन्तरिकरुपमा कलह नै रहने उनले बताए  । सोडारीले यस वर्ष शैक्षिक संस्था, धार्मिक क्षेत्र, बौद्धिक व्यक्तित्वको भूमिकाले राष्ट्रका लागि केही गर्छन् भन्ने आश गरे पनि साउन १२ देखि कार्तिक ३ सम्मको समय आफ्नो स्वार्थपूर्तिका लागि हुने बताए । यस वर्ष दक्षिणतर्फको सीमामा केही समस्या आउन सक्ने, भू–क्षय तथा वर्षाले असहज परिस्थिति सिर्जना गर्नसक्ने, रोगमा वृद्धि हुनसक्छ ।

 

यस वर्ष धनु, मकर र कुम्भ राशीलाई माघ २७ भन्दा पहिला साँढे सातको दशा रहेको छ र अढैया दशा, माघ २७ भन्दा पहिला मिथुन र तुला राशीलाई पर्ने उनले बताए । माघ २७ पछि भने शनि कुम्भ, राशीमा पुग्ने र त्यसपछिका दिनमा मकर, कुम्भ र मिन राशीलाई साँढे सातको दशा रहेको र ककर्ट र वृश्चिक राशीलाई अढैयाको दशा रहेको उनले बताए । नेपालको राशीमा पनि माघ २८ पछि अढैया दशा लाग्नेछ । अर्थात् त्यसपछिका दिनमा आन्तरिक कलहले नेपाललाई सताउनेछ । 

 


यस वर्ष मौसमको दृष्टिकोणले पनि समग्रमा त्यति राम्रो नरहेको सोडारीले बताए । यस वर्ष अल्पवृष्टि, अनावृष्टि र अतिवृष्टि हुने सम्भावना छ । त्यस्तै अन्नबाली उत्पादनको क्षेत्रमा पनि कमी हुनसक्ने सोडारीले बताए । यस वर्ष आर्थिक रुपमा पनि समग्रमा नराम्रो रहेको छ । यस वर्ष भूकम्प जानसक्ने पनि सम्भावना रहेको ग्रहगोचरहरुले देखाएको उनको भनाइ छ । निर्माणका लागि पश्चिमी देशहरुले अनावश्यक आश देखाएर देशमा आन्तरिक कलह निम्तिन सक्ने ग्रहगोचर भएको भन्दै उनले बेलैमा सचेत रहनुपर्ने बताए ।

 

त्यस्तै यस वर्षको आर्थिक अवस्थामा देश कमजोर नै रहने उनले बताए । सोडारीले वैशाख ३ गतेदेखि १८ गतेसम्म कालसर्प योग रहेकोले देशको नेतृत्व गरिरहेका राजनीतिक दलका नेताले होस नपुर्‍याउने हो भने निर्वाचनमा समस्या आउन सक्ने बताए । विवेकपूर्ण रुपमा अघि बढे यसले कुनै असर नगर्ने उनको भनाइ छ ।

 

सेडारीले कृषिको क्षेत्रमा यसवर्ष मध्यम समय रहेको बताए । यस वर्ष पश्चिमी देशबाट वर्षभर नै सचेत रहनुपर्ने ग्रहगोचरले देखाएको उनको भनाइ छ । साउन १२ देखि कार्तिक ३ गतेसम्म शनि वक्र रहेकोले पश्चिमी देशले निर्माणको रुपमा हात हालेका कामको विषयलाई आन्तरिक कलहको विषय बनाएर आन्तरिक द्वन्द्व फैलाउन सक्ने ग्रहगाचर रहेको सोडारीले बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै