Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सरकारले अफगानिस्तानबाट पाठ सिकेर परराष्ट्र सम्बन्धलाई सुदृढ बनावसः परराष्ट्रविद् 

परराष्ट्रविद्हरुले नेपालको परराष्ट्र सम्बन्धलाई बलियो बनाउने गरी साझा धारणा तय गर्न सरकार र राजनीतिक दलहरुलाई आग्रह गरेका छन । 

 

परराष्ट्रविद्हरु ज्ञानचन्द्र आचार्य, डा. मृगेन्द्र कार्की, प्राडा खडग केसी, प्राडा मिना बैद्य मल्ल र नेपाल प्रहरीका अवकाशप्राप्त एआइजी सुरेन्द्रबहादुर शाह लगायतका विज्ञहरुले अफगानिस्तानमा तालिवानी विद्रोहीको कब्जाको घटनाबाट पाठ सिकेर परराष्ट्र सम्बन्धलाई बलियो बनाउने गरी साझा धारणा तत्काल बनाउन नेपाल सरकार र राजनीतिक दलहरुलाई आग्रह गरेका हुन्। 


पूर्व राजदुत समेत रहेका आचार्यले अन्य देशको अस्वभाविक प्रभाव र दवाबलाई थेगेर मुलुकलाई अघि बढाउन राजनीतिक दलहरुले समान धारणासहितको परराष्ट्र नीति ल्याउन ढिलाई गर्न नहुने स्पष्ट पारे ।

 

त्रिभुवन विश्वविद्यालय नेपाल तथा एशियाली अध्ययन केन्द्र (सिनास)का कार्यकारी निर्देशक डा. मृगेन्द्र कार्कीले मुलुकको राष्ट्रिय सुरक्षाप्रति चिन्ता व्यक्त गर्दै त्यसलाई बलियो बनाएर लैजानुपर्नेमा जोड दिए । 

 

उनले नेपालको राष्ट्रिय सुरक्षामा आँच आउने खालका गतिविधि यस अघि पनि हुने गरेको उल्लेख गर्दै त्यसो हुन नदिने गरी राष्ट्रिय सुरक्षा संयन्त्रहरुलाई परिचालन गर्नुपर्ने पनि बताए । कार्यकारी निर्देशक कार्कीले अफगानिस्तानको घटनाले नेपाललाई पनि आफ्नो राष्ट्रिय सुरक्षामा ध्यान दिन सचेत गराएको पनि स्पष्ट पारे ।

 

कार्यकारी निर्देशक कार्कीले अमेरिकाले अफगानिस्तानमा लिएको रणनीति फेल खाएको निष्कर्ष समेत निकालेका छन् । कार्यक्रममा विज्ञहरुले भारतसँगको खुला सीमा पनि नेपालको राष्ट्रिय सुरक्षाका लागि चुनौतिको विषय रहेको औंल्याएका थिए ।

 

अमेरिकी सेनाको फिर्तीसँगै अफगानिस्तानमा तालिवान शासनको पुनः उदय भएपछि दक्षिण एशियामा सुरक्षा चुनौती थपिएको यथार्थ प्रस्तुत गर्दै उनीहरूले भारतसँगको खुला सिमानाका कारण नेपाल अझ जोखिममा रहेकाले थप सुरक्षा सतर्कता अपनाउन अपरिहार्य भएको बताए । कूटनीतिक चातुर्य र बौद्धिक परिपक्वताका साथ नेपाल अघि बढ्नुपर्ने उनीहरूको अभिमत थियो । 

‘अफगानिस्तानबाट अमेरिकी सैन्य फिर्तीः त्यसको नेपालमा प्रभाव र  क्षेत्रिय शान्ति’ विषयमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलले अफगानिस्तानमा रहेका नेपालीको शीघ्र उद्धार, उनीहरूको सुरक्षा अहिलेको पहिलो प्राथमिकताको विषय भएको बताइन् । 


अफगानिस्तानको अहिलेको स्थितिले नेपालमा समस्या नहोस् भन्नेतर्फ बेलैमा सचेत भएर तदनुरुप रणनीति तर्जुमा गरी अघि बढ्नुको विकल्प नभएको बताउँदै उनले त्यसनिम्ति गृह, परराष्ट्र र सुरक्षा परिषद्बीच समन्वय हुनुपर्ने र खुला सिमानाको निरन्तर अनुगमन आवश्यक रहेको बताइन् । 


पूर्वराजदूत शम्भुराम सिम्खडाले सार्कको सदस्य राष्ट्र अफगानिस्तानको शान्ति, स्थायित्व र समृद्धिका लागि सार्कका अन्य सदस्य देशले सघाउनुपर्नेमा जोड दिँदै त्यहाँको प्रभाव नेपालमा पर्न नदिनेतर्फ सम्बद्ध सबै पक्ष सचेत रहनुपर्ने बताएका थिए । 


परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा विज्ञहरुले भारतसँगको खुला सीमा पनि नेपालको राष्ट्रिय सुरक्षाका लागि चुनौतिको विषय रहेको औंल्याएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै