
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रचार प्रसारमा आचारसंहिता विपरितका काम शिक्षित र ठूला नेताहरुबाट बढी भएको बताएका छन् ।
आयोगले मगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आयुक्त थपलियाले अलि पछाडिको क्षेत्रमा निर्वाचन आचारसंहिता भन्दा बाहिर गएर कमै मात्र काम भएको दाबी गरे । सरकारका मन्त्री वा प्रधानमन्त्रीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भए १२ घण्टाभित्र आयोगले स्पष्टीकरण सोध्ने उनले बताए ।
थपलियाले नागरिकता प्राप्त गरेका र वडा विभाजन भएका सबै क्षेत्रमा निर्वाचन गर्ने व्यवस्था गरिएको बताएका छन् । आयोगले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आयुक्त थपलियाले नागरिकता प्राप्त गरेर वडा विभाजन भित्र परेका
६ हजार ७४३ वडा भित्रका मतदाता नामवलीमा नाम भएका सबै नागरिकले मतदान गर्न पाउने गरी सबै क्षेत्रमा निर्वाचनको व्यवस्था गरिएको बताएका हुन् ।
चुच्चे नक्सामा समेटिएको क्षेत्रमा पनि निर्वाचन हुन्छ भन्ने प्रश्नमा थपलियाले यस्तो जवाफ दिएका हुन् ।
मंगलबार राति १२ बजेपछि मौन अवधि सुरु हुने भएकाले मौन अवधिमा कसैले पनि निर्वाचन प्रचारप्रसार सम्बन्धित कुनै पनि किसिमको क्रियाकलाप नगर्न आयुक्त थपलियाले आग्रह गरे ।
उनले भौतिक रुपमा मात्रै नभएर सामाजिक सञ्जाल मार्फतबाट समेत मत माग्न वा प्रचार गर्न नपाउने बताए । थपलियाले मौन अवधिमा निर्वाचन आयोगका अधिकृत वा अनुगमन समितिलाई ४८ घण्टा जागरुक बस्न निर्देशन दिएका छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit