Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

मतपत्र छपाइ सकियोः निर्वाचन आयोग 

निर्वाचन आयोग नेपालले स्थानीय तह सदस्य निर्वाचनको लागि आवश्यक पर्ने सम्पूर्ण मतपत्रको छपाइ कार्य सम्पन्न भएको बताएको छ । 

 


बिहीबार आयोगले नियमित पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी दिएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख २३ गतेसम्म सबै जिल्लामा मतपत्र ढुवानी सम्पन्न हुने बताए ।

 

 

उनले वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीलाई अति जरुरी मानवीय र संवेदनशील कारण परेको अवस्थामा बाहेक फेरबदल नगर्न निर्देशन दिएको बताए ।

 

त्यस्तै उपयुक्त कारण परेको अवस्थामा बाहेक कुनै पनि कर्मचारीले निर्वाचनको काममा खटिन इन्कार गरे प्रचलित कानून बमोजिम कडा कारबाही गर्न मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुलाई आयोगले निर्देशन दिएको छ । 

 


प्रवक्ता पौडेलले मतदान कार्यको लागि खटिएका सम्पूर्ण कर्मचारीलाई अनिवार्यरुपमा आफू खटिएका ठाउँमा अविलम्व जान र आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्न आयोगले आदेश दिएको बताए । उनले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई आयोगले लिखित जवाफ पेस गर्न आदेश दिएको बताए ।

 

मुख्यमन्त्री भट्टले कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ७ विपद्पुरका अग्निपीडित मुक्त कमैया बस्तीको स्थलगत निरीक्षणका क्रममा पीडित परिवारलाई तत्कालका लागि प्रतिपरिवार ५० हजार रुपैयाँका दरले राहत दिने प्रक्रिया अगाडि बढेको भन्ने अभिव्यक्ति दिएकाले निर्वाचन आचारसंहिता २०७८ को व्यवस्था बमोजिम २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न अनुरोध गरेको हो ।

 

त्यस्तै अन्य विभिन्न पार्टीका नेता तथा स्थानीय तह सदस्यका उम्मेदवारहरुलाई आचारसंहिता उल्लंघन गरेको भन्दै २४ घण्टे स्पष्टीकरण दिन आदेश दिएको छ ।
प्रवक्ता अधिकारीले निर्वाचन आयोगबाट हालसम्म निर्वाचन आचारसंहीता उल्लंघन गर्ने ३७ व्यक्ति तथा राजनीतिक दलहरुलाई स्पष्टीकरण सोधेको पनि बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै