Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

पर्याप्त विद्युत् उत्पादन भइरहेको छ, अब खपत बढाउनुपर्छ : उर्जामन्त्री 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सबै क्षेत्रमा विद्युतीय साधनको उपयोग  गर्नुपर्ने बताएकी छन् ।

 

बिहीबार काठमाण्डौमा आयोजित सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको छैटौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले विद्युतीय क्षेत्रको अग्रगमनका लागि उर्जाका सबै क्षेत्रमा जलविद्युतको खपत बढाउनु पर्ने पनि बताएकी छन् । उनले सरकारले अघि बढाएका नीतिका कारण निजी उत्पादकले समेत विद्युत उत्पादन गर्न पाउने अवसरले अब घरायसी प्रयोगमा पर्याप्त विद्युत उपलब्ध गराउने स्थितिमा पुगेको बताएकी छन् । 

 

उनले जनतामा २ वर्ष भित्रै विद्युतिकरण गर्ने सरकारको नीति रहेको भन्दै यसमा  सामुदायिक विद्युत उपभोक्ता महासंघले सहयोग गर्नेमा विश्वस्त रहेको बताएकी छन् । उनले महासंघको नेतृत्वले सबै क्षेत्रमा जलविद्युत उत्पादन गर्ने अभियानलाई अघि बढाउन सहयोग गर्ने बताएकी छन् । उनले उपभोक्ता महासंघले अब नयाँ पन र औचित्यतामा केन्द्रित भएर धेरै विद्युत खपत गराउने र सबै उर्जामा विद्युतीय उर्जा उपयोग गर्ने अभियानका रुपमा रुपान्तरण गर्दै लैजानु पर्ने बताएकी छन् ।

 

‘सरकारले अघि बढाएका नीतिका कारण निजी उत्पादकले समेत विद्युत उत्पादन गर्न पाउने अवसरले हामी अब घरायसी प्रयोगमा पर्याप्त विद्युत उपलब्ध गराउने स्थितीमा छौँ । अहिले एकातिर हामी आम जनतामा २ वर्ष भित्रै विद्युतिकरण गर्ने सरकारको नीति छ । त्यसमा सामुदायिक विद्युत उपभोक्ता महासंघ पनि सहयोगी नै हुनेछ । जहाँ केन्द्रिय प्रशारण लाइन पुग्ने छैन त्यहाँ सामुदायिक विद्युत उपभोक्ता महासंघमार्फन् त्यो अभियान पूरा गर्नेछौँ । अब फेरि हामी नयाँ ठाउँमा आएका छौँ । यो अधिवेशनले त्यो कुरालाई आफ्नो नीति कुरामा ध्यानमा राखोस् । अब हामी उर्जाका सबै क्षेत्रमा जलविद्युत उत्पादन गर्ने अभियानलाई अघि बढाउनु पर्छ’ उनले भनिन् । 

 

‘यो उपभोक्ता महासंघको अब नयाँ पन र औचित्यता बढी भन्दा बढी विद्युत खपत गराउने र सबै उर्जामा विद्युतिय उर्जा उपयोग गर्ने अभियानका रुपमा यसले आफूलाई रुपान्तरण गरोस् । एउटा बेलाको एउटा आवश्यक्ता पूरा गरेर हामीले सधैँ त्यसैमा रहन सक्यौँ भने हामी राम्रो स्तरमा हुन्छौँ । अहिलेको विद्युतको कुरा गर्दा अग्रगमन भनेको उर्जाका सबै चाहे घरेलु होस्, चाहे उद्योग होस् । चाहे कृषि वा सिँचाइ होस् । वा यातायातमा होस् । सबै ठाउँमा विद्युतिय साधनहरु र विद्युतको खपत गर्ने कुरालाई अभियानको रुपमा यहाँहरुले बढाउनु हुनेछ ।  सरकार, नेपाल विद्युत प्राधिकरण, सामुदायिक विद्युत उपभोक्ता महासंघसित साझेदारी, सहकार्य गरेर जानेछ र त्यसमा के के सामञ्जस्यता, सहुलियतहरु बढाएर त्यो अभियानको निम्ति जानुपर्छ । मन्त्रालय, सरकार र प्राधिकरण सकारात्मक रहेको विश्वास दिन चाहन्छु’ उनले भनिन् ।

 

उनले कतिपय सामुदायिक संस्थाहरुले समयमै विद्युत भुक्तानी नगरेको, विनियमावलीले तोकेको भन्दा बढी क्षमताको लोड स्वीकृति गर्ने गरेको र समयमै ग्राहकहरुको समस्या समाधान नगरेको गुनासो मन्त्रालयमा आइरहेको बताएकी छन् । उनले केही सामुदायिक संस्थाका उपभोक्ताहरुले आफूलाई संस्थाबाट अलग बनाइ नेपाल विद्युत प्राधिकरणबाट सेवा दिन अनुरोध गरिरहेको गुनासो आएको पनि बताएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै