Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

संशोधनविना संसदबाट एमसीसी पारित गर्न दिँदैनौँ : झलनाथ खनाल 

फाइल तस्बिर

नेकपा एकीकृत समाजवादीका सांसद झलनाथ खनालले एमसीसी सम्झौतालाई संशोधनबिना संसदबाट पारित गर्न नदिने बताएका छन् । 

 

 

शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री खनालले एमसीसी सम्झौतामा राष्ट्रघात हुने खालको पक्षहरु भएकाले संशोधन नगरी संसदबाट पारित गर्न नदिने बताएका हुन् । एमसीसी सम्झौता केवल करार सम्झौता मात्रै भएकाले नेपालको संसदले अनुमोदन गर्नु आवश्यक नरहेको उनले बताएका छन् । सो सम्झौतालाई संसदले अनुमोदन गरेमा गलत नजिर बस्ने र नेपालको अन्तर्राष्ट्रिय सम्बन्धहरु नै प्रभावित हुने उनले जिकिर गरेका छन् । 

 

 

‘गठबन्धनलाई कुनै ठेगानले छुदैन । एमसीसी मुद्दा राष्ट्रकै विवादको मुद्दा हो । यो कुनै गठबन्धनको मुद्दा होइन । सिंगो नेपालको मुद्दा हो यो । नेपाली जनताको मुद्दा हो यो । सम्पूर्ण नेपाली जनताको अभिमत अनुरुप यो सवालमा टुंगोमा पुग्नुपर्छ । तर जहाँसम्म गठबन्धनको कुरा छ, गठबन्धन भनेको निश्चित सवालमा सहमतीको आधारमा बनेको यो गठबन्धन हो । यो गठबन्धनलाई यो सवालले छुनुपर्ने कुनैपनि आवश्यकता म देख्दिनँ । एमसीसी सन्दर्भमा हाम्रो धारणा के हो भने, यसमा गम्भीर र गम्भीरतम आपत्तिका कुराहरु छन् । यो राष्ट्रलाई घात गर्ने खालका पक्षहरु छन् । यी कुराहरु नसच्चिइकन, यिनीहरुलाई संशोधन नगरीकन हामी यसलाई पास गर्न दिदैनौँ । एमसीसी सम्झौता दुई देश बिचको भियना कन्भेन्सन अनुरुपको अन्तर्राष्ट्रिय सम्झौता होइन, यो करार सम्झौता मात्रै हो । करार सम्झौताहरुलाई दुनियाँको कुनैपनि संसदमा लगेर अनुमोदन गरिदैन । नेपालको संसदले पनि गर्नु हुँदैन । गरियो भने यसले गलत नजिर बस्छ । र नेपालका अन्तर्राष्ट्रिय सम्बन्धहरु भोलि पनि प्रभावित हुन्छन् । त्यसकारण यो गलत कुरा हो’ उनले भने ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै