Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

न्यून पारिश्रमिक पाउने कलाकारलाई सरकारले सहयोग गर्ने

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले न्यून पारिश्रमिक लिने कलाकारहरुको सामाजिक सुरक्षा कोषमा सरकारले सहयोग गर्ने बताएका छन् । 

 

बुधबार ‘शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८’ कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले न्यून पारिश्रमिक लिने कलाकारहरुको सामाजिक सुरक्षा कोषमा सरकारले सहयोग गर्ने बताएका हुन् । उनले टिकटक प्रयोगकर्ताले समाजमा ज्ञान प्रवाह गर्ने सकारात्मक कुराहरुको भिडियो बनाउनु पर्ने भन्दै यो कार्यक्रमले समाजमा टिकटकबारे छरिएका विकृतिलाई उजागर गर्ने आशा आफूले लिएको पनि बताएका छन् ।

 

‘यो कार्यक्रम सफल बनाउनको लागि मेरो र सरकारको तर्फबाट गर्नुपर्ने सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । टिकटकलाई समाजले पोजेटिभ रुपले हेरोस्, नकारात्मक कुरा मात्रै होइन, सन्देशमुलक पनि होस् । म कलाकार श्रमिकहरुको सामाजिक सुरक्षा कोषमा पनि सहयोग गर्न तयार छु, के गर्नुपर्छ सहयोग हुन्छ’ उनले भने । 

 

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले टिकटक लगायतका सामाजिक सञ्जालहरुले सामाजिक मर्यादा कायम गरेर वैज्ञानिक उत्पादनको प्रयोग गर्नुपर्ने बताएका छन् । उनले टिकटक शोले टिकटकलाई विकृतिको थलो नभई सिर्जनात्मक कुराको थलो बनाउने आशा गरेको बताएका छन् । 

 

‘सामाजिक मर्यादालाई कायम गरेर वैज्ञानिक उत्पादनहरु प्रयोग गर्नुपर्दछ । सामाजिक सञ्जालको सही सदुपयोग गर्यौं भने हामी शिष्ट बन्न सक्छौँ । टिकटक स्टारहरुलाई यो विकृति मात्रै होइन, सिर्जना हो भनेर चिनाउने अवसर पनि यही हो । प्रयोग कर्ताहरुले टिकटकले विकृति मात्रै ल्याउँदैन, सिर्जनात्मक कुराहरुलाई पनि उजागर गर्छ भनेर चिनाउनुपर्छ’ उनले भने ।

 

कार्यक्रमको निर्णायकमा अभिनेत्रीद्वय गौरी मल्ल, वर्षा शिवाकोटी र अभिनेता रमेश उप्रेती रहेका छन् । शोमा उत्कृष्ट १० जनाले क्रमशः कार, मोटरसाइकल, स्कुटर, क्यामेरा, ल्यापटप, टेलिभिजन, मोबाइल पाउनेछन् । टिकटक स्टार रियालिटी शोमा सहभागी हुनका लागि टिकटकमा अकाउन्ट अनिवार्य हुनुपर्ने नियम बनाइएको छ । त्यस्तै टिकटकको कम्युनिटी गाइडलाइन पालना गरेर १५ सेकेण्डदेखि ३ मिनेटसम्मको भिडियो बनाएर मङ्सिर मसान्तसम्म अडिसन राउण्डमा पेश गर्नुपर्नेछ । यसबारे बिस्तृत जानकारी शिखर नेपाल टिकटक स्टारको वेबसाइटमा गराइने आयोजकले जनाएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै