Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

नेप्सेमा उच्च अङ्कको वृद्धि, चार कम्पनीको शेयरमा सर्किट

साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको  छ । 

 

 

नेप्से परिसूचक पछिल्लो एक सातादेखि केही दिनबाहेक निरन्तर रुपमा उकालो लाग्न थालेको छ । आइतबार त्यसैको निरन्तरता स्वरुप नेप्से परिसूचक ७३.०१ अंक बढेर २७६५.४७ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीको मूल्य मापन गर्ने सेन्सेटिभ इण्डेक्स १३.२१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ५.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.५६ अंक बढेको छ ।

 

 

आज कारोबारमा आएका २३९ कम्पनीको १ करोड ५० लाख ५८ हजार कित्ता शेयर ७ अर्ब १० करोड १८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेप्से परिसूचकको कारोबार पछिल्लो दुई महिनाकै धेरै शेयर कारोबार भएको छ । मंसिर लागेदेखि  ७ अर्बभन्दा बढीको शेयर कारोबार हुन छाडेको थियो ।  

 

 

पछिल्लो समय दैनिक औषतमा ३/४ अर्बको मात्रै शेयर कारोबार भइरहेको थियो । तर, आइतबार भने एकै दिनमा कारोबार रकम ७ अर्ब नाघेको छ । त्यस्तै, आज नेप्सेका १३ वटै उपसमूहको परिसूचकहरु हरियाली छाएको छ ।  जसमध्ये व्यापार उपसमूहको परिसूचक सबैभन्दा बढी  ६.०८ प्रतिशत बढेको छ । 

 

 

त्यसैगरी विकास बैंक र वित्त उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने जलविद्युत र लगानी उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ । निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी, बैंकिङ्ग, उत्पादन तथा प्रशोधन, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।

 

 

आइतबार उच्च अंकले  बढेको नेप्सेसँगै ४ कम्पनीहरुको शेयर पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।  जसमा हिमालयन उर्जा विकास कम्पनी, नेपाल हाइड्रो डेभलोपर्स, युनियन हाइड्रोपावर र मध्य भोटेकोशीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै न्यादी पावर, प्रोग्रेशिभ फाइनान्स, आईसीएफसी फाइनान्स, एचआईडिसीएल र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । तर, मिथिला लघुवित्तको शेयरमूल्य भने  १.२७ प्रतिशत घटेको छ । 

 

 

कारोबार रकमका आधारमा २९ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार गरेर अपि पावर कम्पनी पहिलो स्थानमा रहेको छ । यता  प्रभु बैंक र अपर तामाकोशीको २० करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै