Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

श्रीलंकालाई हेरेर हामीले पाठ सिक्नुपर्छ: गभर्नर अधिकारी 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको आर्थिक सुधारको लागि श्रीलंकाबाट हेरेर पाठ सिक्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

 

शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ’नेसनल कन्फ्रेन्स अन इकोनमिक्स एण्ड फाइनान्स’ विषय कार्यक्रममा बोल्दै गभर्नर अधिकारले बाह्य क्षेत्रको व्यवस्थापन गर्न नसकेको कारण अहिले श्रीलंका आर्थिक संकटको मारमा परेको बताएका हुन् । 

 


उनले भने, ‘बाह्य क्षेत्र व्यवस्थापन गर्न नसक्नुको अवस्था श्रीलंकाको अवस्था हेरेर देख्न सक्छौं । अत्याधित आयातमुुखी भइरहेको अर्थतन्त्रलाई उत्पादनमुखी बनाई निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापन दिसामा मुलुक नलैजाने हो भने कुनै पनि समय बाह्य स्थायित्वको जोखिम पर्न सक्ने हुँदा व्यवस्थापन चुनौतीपूर्णं रहने देखिन्छ ।’

 


अधिकारीले बाह्य क्षेत्रको व्यवस्थापनका लागि आयातलाई प्रतिस्थापन गर्नु जरुरी रहेको बताए । 

 

आयात बढ्दै जाँदा सोही अनुसारको विदेशी मुद्रा सञ्चिति पनि घट्दै गएकाले मुलुकको अर्थतन्त्रमा बाह्य क्षेत्रको स्थायित्व प्रमुख चुनौतीको रुपमा देखिएको बताए ।

 

गभर्नर अधिकारीले चालु आर्थिक वर्षको शुरुदेखि नै रेमिट्यान्स घट्दै गएको तथा आयात बढेको कारण शोधानान्तर घाटा र बैंकमा तरलता अभाव रहेको बताए । उनले पेट्रोलियम पदार्थको मूल्यले बाह्य क्षेत्रमा चाप परेको र लगानी योग्य रकम नभएको कारण बैंकहरुमा ब्याजदर बढ्दै गएको उल्लेख गरे । 

 

 

त्यस्तै गभर्नर अधिकारीले नेपालमा बाह्य क्षेत्रको प्रवृत्ति केलाउँदा विगत साढे चार दशकदेखि नै बाह्य व्यापार घाटामा रहेको बताए । उनले चालु आर्थिक वर्षको सुरुवात देखि सोधानान्तर स्थिति तथा चालु खाता घट्दै गएको र ८ महिनामा  कुल वस्तुको निर्यात ८२.९ प्रतिशत बढेर १४७ अर्ब ७५ करोड पुगेको बताए । त्यस्तै वस्तु आयात ३८.६ ले बढेर १३ सय ८ अर्ब ७३ करोड पुगेको अधिकारीको भनाइ छ ।

 

अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएको रुस युक्रेन युद्ध जस्ता गतिविधिमा सुधार आउन धेरै समय लागेमा मूल्यमा परेको दबाब केही थप समयसम्म जोखिममा नै रहने गभर्नर अधिकारीको अनुमान छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै