Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

चितवन राजनीतिको केन्द्रबिन्दु बन्नुमा प्रचण्डको मुख्य भुमिका छ : रेणु दाहाल

मेयर रेणु दाहालले  चितवन राजनीतिको केन्द्रबिन्दु बन्नुको पछाडि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) रहेको दाबी गरेकी छन् ।

 

 

उनले देश शान्तिप्रक्रिया यता प्रचण्डकै वरिपरि रहेको र देशका हरेक समस्याको समाधान अध्यक्ष दाहालबाट नै भएको बताएकी छन् । उनले प्रचण्ड चितवनको जनप्रतिनिधि बनेपछि छोटो समयमै जिल्लाको कायापलट भएको बताएकी छन् । उनले महानगरको विकास र शीर्षस्थ नेतृत्वको कारण जिल्लाले छोटो समयावधिमै विकास निर्माणका कामलाई गति दिएको उल्लेख गरेकी छन् ।

 

 

‘राजनीतिको केन्द्रबिन्दु चितवन बन्नुमा मलाई के लाग्छ भने राजनीतिको  एउटा उथलपुथल क्रान्ति गरेर यो देशलाई परिवर्तनको बिन्दुमा ल्याउने नेतृत्व, अध्यक्ष कम्रेड प्रचण्ड । आखिर देश त उहाँकै वरपर घुमेको छ । २०६४ देखि यहाँसम्म आइपुग्दा । शान्तिप्रक्रियादेखि यहाँसम्म आइपुग्दा । हरेक कालखण्डमा देशमा ठूला समस्या शंकट आउँदा पनि आखिर देशको समस्याको निकास दिने व्यक्ति र पार्टी भनेको अध्यक्ष कम्रेड प्रचण्ड, माओवादी पार्टी । प्रचण्ड यहाँको नभइ अन्यत्र जिल्लाको प्रतिनिधि हुँदा चितवनको अवस्था के थियो ? त्यो आकर्षण चितवनमा थिएन’ उनले भनिन् । 

 

 

‘अध्यक्ष कम्रेड चितवन जिल्लाबाट जब जनप्रतिनिधिको रुपमा आउनु भयो । तब यो छोटो अवधिमा चितवनको चर्चा, परिचर्चा कस्तो छ ? राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा, आम सबै हिसावले । अहिले हरेक गतिविधि राजधानी काठमाडौं भन्दा पनि चितवन केन्द्रित छन् । विभिन्न पार्टीका सभा सम्मेलन, मेला, प्रदर्शनी, किन भइरहेका छन् भन्दा जसरी देश उहाँकै वरपर घुमिरहेको छ, त्यसैगरी उहाँ यहाँबाट प्रतिनिधित्व गरेको कारणले गर्दा चितवन जिल्लाको महत्व बढेको छ । अर्को कुरा भरतपुर महानगरपालिकामा जुन ढंगले विकास भएको छ, विकासको चर्चा, परिचर्चाका कारणले पनि, वैकल्पिक राजधानीको रुपमा यो स्वतःस्फूर्तः बन्दै गइरहेको छ । चितवन जिल्ला व्यवसायिक, आर्थिक केन्द्रको रुपमा, मेडिकल सिटीको रुपमा, शैक्षिक हबको रुपमा, उत्पादनको केन्द्रको रुपमा, कृषि हबको रुपमा, हामी दुध, माछाको राजधानी, हामी आत्मनिर्भर छौँ’ उनले भनिन् ।

 

 

उनले आफ्नो साढे ४ वर्षको कार्यकालमा जनताले सोचेको र जनतासँग वाचा गरे भन्दा धेरै काम गरेको दाबी गरेकी छन् । उनले चितवन जिल्ला अहिले दुग्ध उत्पादन, माछा, केराखेती, कृषिको क्षेत्रमा आत्मनिर्भर रहेको बताएकी छन् । न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै मेयर दाहालले शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि महानगरले उल्लेख्य काम गरेको र आगामी दिनमा कृषि, शिक्षा, स्वास्थ्यको हब चितवन बनाउने दाबी गरेकी छन् । 

 

उनले शीर्षस्थ नेताहरु भएको ठाउँको विकास अलि चाँडै हुने गरेको त्यसको प्रभाव चितवनमा पनि परेको बताएकी छन् । मेयर दाहालले शीर्षस्थ नेता चितवनको जनप्रतिनिधि भएकाले गर्दा अर्बौं बजेटका योजनाहरु गर्न सफल भएको बताएकी छन् ।

 

 

‘साढे ४ वर्षमा ५३ काम भनेको संक्षिप्त हो । हामीले ५३ दुना काम गरेका छौँ । महानगरपालिकाले राष्ट्रिय गौरवका आयोजनाहरु, महानगर गौरवका आयोजनाहरु, सडक पूर्वाधार, भौतिक पूर्वाधारहरु, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, समग्र क्षेत्र, सुशासनको क्षेत्र, रोजगारी सिर्जना लगायतका क्षेत्रमा महानगरपालिकाले विकासको सन्तुलित मोडल र खाका अनुसार हामी अघि बढेका छौँ । चुनावी दौरानमा जनताको बीचमा गरेका वाचा भन्दा धेरै माथि उठेर काम गरेका छौँ । सडक पूर्वाधारको क्षेत्रमा सोचेभन्दा बढी उपलब्धि प्राप्त गरेका छौँ । भौतिक पूर्वाधारमा पनि महानगरपालिका भित्र रहेका वडका कार्यालय भवनहरु १६ वटा त नयाँ बनाएका छौँ’ उनले भनिन् ।

 

 

‘शिक्षाको क्षेत्रमा विद्यालय भवन, विद्यालयको भौतिक पूर्वाधार, शैक्षिक गुणस्तरका योजनाहरु, तीन वर्षको तथ्यांक अनुसार महानगरपालिकामा सामुदायिक विद्यालयमा विद्यार्थी संख्या भर्ना दर साढे ६ हजार विद्यार्थीहरु बढाउन सफल भएका छौँ । सरकारी विद्यालयमा भर्ना हुने क्रम तीव्र ढंगले बढेको छ । ५ वर्षको हाम्रो कार्यकालमा १० हजार विद्यार्थी निजीबा सरकारीमा आउने हाम्रो संकल्प छ । हामी सफल हुन्छौँ । हामी माछामा, दुग्ध उत्पादनमा, पोल्टिमा आत्मनिर्भर छौँ । तरकारीमा, केरा खेतीमा आत्मनिर्भर छौँ’ उनले भनिन् ।

 

 

‘स्वास्थ्यको क्षेत्रमा पनि हामी सबल छौँ । त्यो त पक्का हो नि । एक त आफ्नो संकल्प पनि हो । आफ्नो इच्छाशक्ति पनि हो । दोस्रो कुरा अलिकति पहुँच पनि हुनुपर्छ । डडेलधुरा जिल्लाको विकास भएको छ, के कारण भन्दा पहुँचवाला नेता भएको कारण । शेरबहादुर देउवाज्यू नेपाली काँग्रेसको सभापति हुनुहुन्छ, धेरैपटक प्रधानमन्त्री बन्नुभएको छ । त्यो जिल्लको नेतृत्व उहाँले गर्नुभएको छ । जसका कारण पहुँच भएकै आधारमा अरु जिल्लाको भन्दा त्यो ठाउँको विकास भएको छ’ उनले भनिन् ।

 

 

‘शीर्षस्थ नेताहरुको भएको अन्य जिल्लाहरुको पनि विकास भएको छ । पहुँचवाला प्रतिनिधि हुनु र नहुनुमा अन्तर त देखियो ।यहाँ पनि म त्यो होइन भन्न सक्दिन । त्यो कुरा स्वभाविक हो नै । हिजो मुलुक परिवर्तनको लागि पनि हामी निःस्वार्थ ढंगबाट व्यक्तिगत चाहनाहरुलाई गुमाएर मुलुक परिवर्तन र जनताको अधिकारका लागि होमिएको हो । संविधानसभाको सदस्यको रुपमा काम गरेको, सबैतिरबाट चिरपरिचित हुनुको नाताले पनि सबैतिर समन्वय, सहकार्य भएको छ । चितवन जिल्लाले शीर्षस्थ नेतृत्व, राजनेता अध्यक्ष कम्रेड प्रचण्ड पाएको छ’ उनले भनिन् ।

 

 

‘यो भन्दा अघि शीर्षस्थ नेता नपाएकोले हिजोको दिनमा मध्यभागमा भएर पनि चितवन जिल्लाको विकास सोचेअनुरुप भएको थिएन । साढे तीन वर्षको अवधिमा लगभग कायायपलट हुने हिसावले विकास भएको छ । ६१० किलोमिटर बाटो पिच हुने कुरा, हिजो ६ किलोमिटर हुन हम्मेहम्मे थियो । अन्तर्राष्ट्रिय स्तरको सिटि हलको योजना, अन्तर्राष्ट्रिय स्तरको एक्स्पो सेन्टर, क्रिकेट रंगशालाका योजनाहरु, नारायणी किनारलाई सिभिज मोडेलबाट विकास गर्ने भनेका छौँ । नारायणी तटबन्ध्मनका योजना, सिक्स लेन सडक, फोर लेन सडक, हुलाक सडकका योजनाहरु यी सबै योजना सजिलै भएको छैन’ उनले भनिन् ।

 

 

‘सजिलै हुन्थ्यो भने हिजो पनि हुन्थ्यो । हिजो पनि निर्वाचन भएको थियो प्रतिनिधि हुन्थे । मन्त्री भए प्रधानमन्त्री समेत भए । तत्कालीन अवस्थामा चितवन क्षेत्र नम्बर ४ बाट जितेर सुशील कोईराला प्रधानमन्त्री बन्नुभयो । तर हामीले दृढशक्तिका साथ काम गरेका छौँ । शीर्षस्थ नेता पाएका छौँ । चितवन जिल्लाको लागि उहाँ कम्रेड प्रचण्ड आवश्यक हो । यदी उहाँ यो क्षेत्रमा नभएको भए त्यो विकास यति थोरै समयमा हुँदैन थियो भन्ने कुरा आम जनतालाई थाहा छ । पहुँच नभइकन यत्तिका अर्बौं योजना सम्भव थिएन, खानेपानीमा मात्रै ३ अर्ब ७० करोड छ । लगभग ४ अर्ब ७२ करोडको नारायणी तटबन्धनको बहुवर्षीय योजनाका लागि स्वीकृत भएको छ’ उनले भनिन् ।

 

 

उनले महानगरले रोजगारी सिर्जना गर्न, विकासलाई तीव्रता दिनका लागि काम गरिरहेकोले जनताले यसलाई मूल्यांकन गरिरहेको बताएकी छन् । उनले चितवन जिल्लाका लागि प्रचण्ड आवश्यक रहेको भन्दै पहुँच बिना अर्बौंका योजना सुरु गर्न सम्भव नभएको बताएकी छन् । 

 

 

उनका अनुसार आफ्नो कार्याकालमा महानगरमा ३ अर्ब ७० करोडको खानेपानी योजना र ६१० किलोमिटर सडक निर्माण भएको छ । उनले महानगरको ५ वर्षे कार्याकालमा निजी विद्यालयबाट १० हजार विद्यार्थीहरुलाई सरकारी विद्यालयमा भर्ना गराउने योजना भएको र त्यसअनुसार सफल भइरहेको बताएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै