
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई ‘अदालतले जडान गरिदिएको थोत्रा टालोको पुतली’को संज्ञा दिएका छन् ।
उनले सत्तारुढ गठबन्धन आफैंलाई भने एमाले सम्झिएर निद्रामा पनि ऐठन हुने गरेको बताए । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा पार्टीको स्थानीय तह निर्वाचन घोषणा पत्र सार्वजनिक गर्दै उनले बेहाल अवस्थामा रहेको सत्तारुढ गठबन्धनले आफ्नो पार्टीलाई डराएको भन्न नमिल्ने बताए ।
ओलीले ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई पूरा गर्न पनि एमालेलाई आगामी तीन वटै तहको निर्वाचनमा विजयी गराउनुको विकल्प नरहेको पनि बताए । पाँच दलीय गठबन्धनले देशलाई बिगारेको उल्लेख गर्दै उनले त्यसलाई सही बाटोमा ल्याउन एमालेले आगामी सबै तहको निर्वाचनमा जित्नैपर्ने जिकिर गरे ।
ओलीले भने, ‘स्थानीय तहमा एमालेलाई बहुमत दिन सकेनौं भने देशले दुर्भाग्य व्यहोर्नुपर्नेछ ।’
अध्यक्ष ओलीले आगामी सबै तहको निर्वाचन जित्ने र मुलुकलाई आत्मविश्वासका साथ बनाउने अभियानमा सहभागी हुन पनि सबै देशबासीलाई आह्वान गरे
।
उनले आफ्नो पार्टीले घोषणा गरेको स्थानीय तह निर्वाचनको घोषणा पत्रको सारतत्व समृद्ध नेपालः सुःखी नेपाली बनाउनु रहेको बताए । त्यसका लागि आफ्नो पार्टीको नेतृत्वमा तीन वटै तहमा सरकार बनाउनै पर्ने अध्यक्ष ओलीको भनाइ थियो ।
अध्यक्ष ओलीले चैत्र महिना भित्रै मेलम्चीको पानी काठमाडौं खसाल्छु भने पनि सरकारले नसकेको बताए ।
उनले अब यो सरकारले वर्षा लागेपछि मेलम्चीको भेल सुरुङमा पठाउने र त्यसलाई बनाउन अर्को २/३ वर्ष लगाउने बताए ।
उनले अहिलेको सरकारले अर्थतन्त्र पनि कमजोर बनाएको आरोप लगाए । उनले आफ्नो पार्टी सानो भएको भए सिध्याइदिने षडयन्त्र भएको आरोप लगाए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit