Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नयाँ नीति आवश्यक : पर्यटन बोर्ड

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नयाँ नीति बनाएर अघि बढ्नुपर्ने बताएका छन् ।

 

बुधवार काठमाण्डौमा आयोजित राष्ट्रिय पुनरुत्थान रणनीतिक योजना कार्यशाला गोष्ठीमा बोल्दै उनले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नयाँ नीति बनाएर अघि बढ्नुपर्ने बताएका हुन् । उनले नयाँ पुनरुत्थान नीतिमा सबै वर्गका व्यवसायीहरुलाई समेट्ने गरी रणनैतिक योजना बनाउनु पर्ने बताएका छन् । उनले कोरोना महामारीका बेला सरकारले पर्यटन व्यवसायीहरुलाई दिने भनेको सेवा सुविधा पाउनु पर्ने व्यवसयीहरुले नपाएको गुनासो समेत गरेका छन् ।

 

‘नेपालको एउटा छुट्टै खालको पर्यटनको अवस्था छ । नेपालको पनि आफ्नै युनिक खालको रिभाइबल पोलिसि हुनुपर्छ । त्यसमा प्रत्येकलाई समेटिएको हुनुपर्छ । जो रियलमा पीडित छन्, तिनीहरुले सुविधा पाउन नसकेको अवस्था छ । सरकारले दिएका विभिन्न सेवा, सुविधाहरु अलि माथिल्लो वर्ग वा धेरै लगानी भएकाहरुले मात्रै लिएको अवस्था छ । भाडामा लिएर व्यवसाय गरेको ठूलो समुदायलाई सरकारले दिएको सेवा सुविधा पुग्न सकेन । गभर्मेण्टले पनि जे कुरा लिएर आएको छ त्यसमा सेक्योर गर्न खोजिरहेको छ । दुरुपयोग नहोस् भन्न खोजिरहेको छ । तर यस्तो रिभाइबलको बेलामा पीडितहरुलाई त्यसको सेवा पुगोस् भन्ने हिसावले जानुपर्दथ्यो । अहिले यो मन्त्रालयले जिम्मेवारी लिएको छ’ उनले भने ।

 

कार्यक्रममा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका नीति सल्लाहकार धर्म स्वर्णकारले पर्यटनको विकासले रोजगारी सिर्जना हुने भएको बताएका छन् । उनले पर्यटन कृषि र मनोरञ्जन क्षेत्रसँग पनि सम्बन्धित भएकोले यसको असर अन्य धेरै क्षेत्रमा पर्ने बताएका छन् । उनले आर्थिक समृद्धि र विकासको कुरा गर्दा सबैले पर्यटनलाई बिर्सिन नहुने बताएका छन् ।

 

‘पर्यटन मुख्यरुपमा कृषिसँग सम्बन्धित छ । मनोरञ्जन व्यवसायसँग सम्बन्धित छ । पर्यटन प्रभाव भयो भने त्यसको अरु धेरै क्षेत्रमा त्यसको असर पर्दछ । रोजगारी प्रभाव पर्दछ । त्यसकारण पनि पर्यटन व्यवसायको महत्व धेरै छ । आर्थिक समृद्धि र विकासको कुरा गर्दा पर्यटनलाई बढाउनु पर्छ भन्ने कुरा बिर्सिनु हुँदैन । पर्यटनको वृद्धि भए रोजगारीको पनि वृद्धि हुन्छ । समावेशी विकासको लागि पनि पर्यटनको विकास अनिवार्य छ’ उनले भने ।

 

उनले समावेशी विकासको लागि पनि पर्यटनको विकास अनिवार्य रहेको समेत बताएका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै