
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिलाई कुबाटोमा हिडाउन खोजेको आरोप लगाएका छन् ।
नेकपा (एमाले) झापा–काठमाडौं सम्पर्क समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको सी डिभिजन छनोट खेलिरहेका खेलाडीसँग छलफल तथा भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सभामुख सापकोटा राजनीतिको राजमार्गबाट नहिडी कान्ला–कान्ला र भीरबाट हिडेको बताएका हुन् ।
उनले निर्वाचन आयोग पनि संविधान र कानूनको राजमार्गमा हिड्न छाडेको बताए । उनले अदालतमा बसेपछि जे पनि गर्न सकिने जस्तो भइरहेको पनि उल्लेख गरे ।
उनले भने, ‘राजनीतिलाई कुबाटोबाट हिडाउन खोजिएको छ । राजमार्गबाट सभामुख हिड्न मान्दैनन् । बाटाबाट हिड्न मान्दैनन् । कान्ला कान्ला, भिर भिर कुद्छन् । निर्वाचन आयोग संविधानको, कानूनको राजमार्ग छ त्यो राजमार्ग छोडेर भित्तातिर ठोक्किन जान्छ । सम्मानित अदालतको कुरै नगरौँ । त्यहाँ बसेपछि त जे गर्दापनि हुन्छ । त्यही भइरहेको छ । हामी ति कुराहरुलाई स्वीकारेर, मानेर लोकतन्त्रप्रति चिन्ता गरिरहेका छौँ । चिन्ता
लोकतन्त्रको भविष्य प्रति गरिरहेका छौँ । किनभने लोकतन्त्रको भविष्य हाम्रो बलिदानसँग जोडिएको छ ।’
अध्यक्ष ओलीले वर्तमान सत्ता गठबन्धनले अलोकतान्त्रिक अभ्यास गरिरहेको भन्दै आगामी चुनावमा वर्तमान सत्तारुढ गठबन्धन भत्किने बताए ।
‘अहिले सबभन्दा बढी समाजका लागि चिन्ता भएको, राजनीतिमा चिन्ता भएको कुरो के भने अलोकतान्त्रिक जस्तो अभ्यास भइरहेको छ, त्यो चिन्ताको विषय हो । अहिले सरकारमा को रह्यो, को रहेन, को गयो, जालझेल, षडयन्त्र गरेर, तिगड्म गरेर, स्वार्थहरुका पोकाहरु एक ठाउँ भेला भएर, उद्देश्य नभएका मान्छेहरुको झुण्ड गयो होला सरकारमा चिन्ताको विषय होईन । त्यो गठजोड यताउता त के हुन्छ र चुनावमा गएर के को गठजोड चुनावमा गएर सब ठिकठाक भैहाल्छ,’ उनले भने ।
उनले खेल क्षेत्रलाई महत्व दिनुपर्ने तथा प्रोत्साहन गर्नुपर्ने पनि बताए । खेलले मानिसलाई चुस्त, दुरुस्त, सक्षम र अनुशासित बनाउने उल्लेख गरे । अनुशासित भएर खेल्नसके सफलता प्राप्त गर्न सकिने भन्दै अध्यक्ष ओलीले खेलाडीहरुलाई अनुशासित भएर खेल्न सुझाव समेत दिए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit