Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

प्रधानन्यायाधीशको सम्पत्तिबारे अनुसन्धान गराउँछौं : सर्वोच्च बार अध्यक्ष शाक्य

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले आफ्नो आन्दोलन जारी राखेको छ । आइतवार पनि सर्वोच्च अदालत परिसरमा बारले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलन गरेको हो ।

 

सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश जबरा र उनका परिवारको सम्पत्तिबारे अनुसन्धानका लागि नेताहरु सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा जाने तयारीमा रहेको बताए । उनले विभागबाट छानबिन गर्न बारले पनि सहयोग गर्ने जनाए ।  

 

‘नेताहरु सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा जाँदै हुनुहुन्छ, प्रधानन्यायाधीश तथा उनका परिवारको बारेमा विभागबाट सम्पत्तिको छानबिन गर्नलाई उहाँहरुले मागपत्र लिएर जाँदै हुनुहुन्छ । विभागबाट पनि यसको छानबिन हुन जरुरी छ भन्ने हामी सबैलाई लागेको हो । हामीबाट उहाँहरुले उचालेको कदमलाई स्वागत गर्दछौँ । आवश्यक्ताअनुसार हामी पनि उहाँहरुलाई टेवा दिन तयार छौँ । यसपटक केही न केही आउँछ भन्ने लागेको छ,’ अध्यक्ष शाक्यले भने ।

 

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले स्वतन्त्र र स्वच्छ न्यायपालिका मानवअधिकारकोे मेरुदण्ड भएकोले न्यायपालिकाभित्र विकृति, विसंगति हुन नहुने बताए । उनले न्यायपालिकाभित्र विकृति, विसंगति तथा अनियमितता, भ्रष्टाचार र विचौलियाहरुले प्रवेश पाएको र प्रभाव बढ्दै गएको कारण न्यायपालिकाको स्वतन्त्रतामाथि गम्भीर प्रहार भएको समेत जनाए । 

 

अध्यक्ष श्रेष्ठले न्यायपालिकाको स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, जवाफदेहिता कायम गर्न र  न्यायमा सबैको समान पहुँच सुनिश्चित गर्न न्यायपालिका भित्रको अनियमितता, भ्रष्टाचार एवं विचौलिया अन्त्य गर्नका लागि आवश्यक कदम चाल्न सम्बन्ति सबैको ध्यानाकर्षण गराए ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै