Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

भूमिहीनता सदाका लागि अन्त्य गर्न आयोगलाई मन्त्री श्रेष्ठको निर्देशन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमिहीनता सदाका लागि अन्त्य हुनेगरी काम गर्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएकी छन् ।

 

 

मन्त्री श्रेष्ठले लक्षित वर्गले भरोसा गर्नेगरी कार्य प्रारम्भ गर्न पनि आयोगलाई सचेत गराएकी छन् । राष्ट्रिय भूमि आयोगले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले  आयोगको कामलाई सफल बनाउन आफ्नो मन्त्रालय र मातहतका सबै निकायले सम्पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेकी छन् ।

 

 

उनले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको मात्रै नभएर मोही, विर्तालगायतको समस्या समाधान गर्न पनि सरकारले कुनै कसर बाँकि नराख्ने बताएकी छन् । उनले कमलरीलगायतका मुक्त कमैयाँहरुको व्यवस्थापन अझै हुन नसकेको उल्लेख गर्दै ती समस्या समाधानका लागि सरकारले ५ सदस्यीय अध्ययन समेत बनाएको पनि जानकारी दिएकी छन् । 

 

 

‘आयोगलाई परिणाम निकाल्ने गरी आम जनताले देख्ने र अनुभूति गर्नेगरी लक्षित वर्गको रुपमा रहेको भूमिहीन दलित, भूमिहीन सुकम्बासी र अव्यवस्थित बसोबासीहरुले भरोसा गर्न सक्नेगरी कार्य प्रारम्भ गर्दै नेपालबाट भूमिहीनता सदाका लागि अन्त्य गर्नेगरी कार्य योजना अनुरुप अघि बढनेछ भन्ने मेरो विश्वास रहेको छ’ उनले भनिन् । 

 

 

‘यसका लागि मन्त्रालयको तर्फबाट तर्जुमा गर्नुपर्ने कामहरु, सहयोग, समन्वय र सहजीकरणका साथै अन्य आवश्यक नीतिगत कामहरुमा पूर्ण सहयोग रहने वचनवद्धता पनि व्यक्त गर्न चाहन्छु । यो काममा नेपाल सरकारको तर्फबाट भूमि व्यवस्था मन्त्रालय र त्यसका सबै निकायले आयोगलाई सबै प्रकारको सहयोग प्राप्त हुनेछ । नेपाल सरकारको तर्फबाट आयोगको कामलाई सफल बनाउन भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासी मात्रै नभएर मोही, विर्ता र अन्य विभिन्न समस्यामा रहेका जनताको समस्या समाधानका लागि कुनै कसर बाँकि राखिने छैन । सरकारले कमलरी, हरुवा, चरुवाहरुको व्यवस्थापनका लागि अध्ययण गर्न पाँच सदस्यीय अध्ययण समिति बनाएको छ’ उनले भनिन् ।

 

 

कार्यक्रममा बोल्दै राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले भूमिहीनहरुको समस्या समाधान हुनेगरी आयोगले आफ्नो कामलाई अघि बढाएको बताएका छन् । उनले वर्तमान सरकारले भूमिहीनहरुको समस्या समाधानको कामलाई प्राथमिकताका साथ अघि बढाएको दाबी पनि गरेका छन् ।

 

 

उनले भूमिहीनहरुको समस्या समाधानका लागि आयोगले स्थानीय सरकारसँग मिलेर काम हुने गरी कार्ययोजना तय गरेको पनि बताएका छन् ।


 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै