Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

अब तराईमा जनताले एमालेलाई मात्र स्वागत गर्छन्ः ओली 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा तराईका जनताले एमालेलाई मात्रै स्वागत गर्ने बताएका छन् ।

 

बिहीवार काठमाडौंमा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै ओलीले तराई, मधेशमा एमालेको लहर आएको बताए । 

 


उनले भने ‘हामी बहुमत ल्याउन सक्छौँ । अघिल्लो निर्वाचनमा पनि हामी सरकारमा थिएनौँ । तर हामीले परिणाम राम्रो ल्याएको थियौँ । तराईमा हामीलाई प्रवेश गर्न दिइएको थिएन । यसपल्ट तराईमा एमालेलाई मात्र जनताले स्वागत गर्छ ।’ 

 


अध्यक्ष ओलीले तत्कालीन नेकपा पार्टीकब्जा गर्ने षड्यन्त्र समाप्त पार्न आफूले प्रतिनिधि सभा विघटन गर्नुपरेको बताए । प्रचण्ड, माधव नेपालहरुले संगठन कब्जामा लिइसकेकाले कार्यकर्तामा अपिल गर्न जानुको विकल्प आफूसँग नरहेको भन्दै उनले आफ्नो बचाउ गरे । 

 


उनले पाँच दलीय गठबन्धनले झापामा राप्रपालाई साझा उम्मेदवार बनाएकाले अब यो गठबन्धन छ दलीय गठबन्धन बनेको बताए ।

 

उनले भने, ‘एमालेको सूर्य सिध्याउँछु भनेर कुदेकाहरुको थुतुनो आज डढिराखेको छ । गतवर्ष एउटा डरलाग्दो षड्यन्त्र भयो । १९ पृष्ठ लामो पार्टी अध्यक्षविरुद्ध फौजदारी आरोपसहित १९ पृष्ठ लामो अभियोगपत्र अगाडि बढाइयो । यो ठूलो षडयन्त्र थियो । त्यस अभियोगपत्रबाट के योजना थियो भने पार्टीबाट निष्काशन गर्ने र मुद्दा चलाएर थुन्ने योजना थियो ।’

 


अध्यक्ष ओलीले आगामी निर्वाचनपछि एमाले संवैधानिक रुपमा, मूल ढोकाबाटै शासन सत्ता सम्हाल्न पुग्ने दाबी गरे । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै