Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

खाद्यान्न आयात ३० प्रतिशतभन्दा कम गर्न सजिलो छैन : अध्यक्ष गोल्छा 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बजेटमा खाद्यान्न, तरकारी र फलफूलको आयातमा ३० प्रतिशत भन्दा कमी गर्ने कुरा सुन्दा कर्ण प्रिय भए पनि सजिलो नभएको बताएका छन् । 

 

 

सोमबार राजस्व परापर्श समितिले आयोजना गरेको कर सुधार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बतएका हुन् । उनले सजिलो तरिकाले खाद्यान्न, तरकारी र फलफूल आयात ३० प्रतिशत कमी ल्याउन सक्ने भए पहिला नै गरिसकिने दाबी गरे ।

 

 

अध्यक्ष गोल्छाले सरकारले विकास पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा लगानी नगर्ने हो भनेर बजेटले लिएका लक्ष्य हासिल गर्न नसकिने बताए । 
उनले बजेट मार्फत व्यवसायीलाई निर्यातमा सहुलियत दिने कार्याविधि समयमै बन्छ भन्ने विश्वास कसैलाई नभएको बताए । उनले सरकारले दिएको सहुलियत कार्यान्वयनको लागि कार्यविधि समयमै बने मात्रै उद्योगीहरुले सहुलियत पाउन सक्ने बताए ।  

 

 

सरकारले कच्चापदार्थमा कर बढाउँदा घ्यू तेल उद्योग समस्यामा परेको उनको भनाइ छ । त्यस्तै अध्यक्ष गोल्छाले सेनिटरी प्याड उद्योग बन्द हुने अवस्थामा पुगेको दाबी गरे ।  सरकारले अब कच्चापदार्थमा कर लगाउने नीति परिवर्तन गरे मात्रै उद्योगलाई परेको समस्या समाधान हुनसक्ने अध्यक्ष गोल्छाले बताए ।

 

 

उनले पछिल्लो समय मूल्य वृद्धि,अर्थतन्त्रमा समस्या तथा भारतले निर्यात नीति परिर्वतन गरेको कारण १८ प्रतिशत राजस्व वृद्धि गर्न नसकिने दाबी गरे । 

 


त्यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बजेटले औद्योगीकरणका लागि बाटो खोलेको बताए । सरकारले बजेट मार्फत जग्गामा गरेको व्यवस्था उद्योगमैत्री वातावरण निर्माणमा सघाउने उनले बताए । अध्यक्ष अग्रवालले सरकारले रुग्ण उद्योग चलाउने निर्णय पनि सकारात्मक भएको बताए । सरकारले उद्योग क्षेत्रमा ल्याएको नीति कार्यान्वयमा आए उद्योग क्षेत्रमा गेम चेन्जर हुने अग्रवालले बताए । 

 


त्यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले राष्ट्र बैंकको नीतिका कारण सेयर बजारका लाखौं लगानीकर्ता पलायन हुने अवस्थामा पुगेको बताए । 

 

 

अध्यक्ष मल्ले शेयर बजार खर्बौ रुपैयाँ व्यवसायीले लगानी लगाएको तर अहिले त्यो खबौं लगानी डुब्न लाग्दा पनि सरकार मौन बसेको आरोप लगाए । उनले सरकारको साना नीतिको कारण लाखौं लगानीकर्ता फुटपातमा आउने र घरबारविहीन हुने अवस्था आएको दाबी गरे । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै