
नेपाल टेलिकममा टेलिकम भित्रकै कर्मचारीलाई प्रवन्ध निर्देशक बनाउन माग गर्दै कर्मचारीहरु आन्दोलित भएका छन् ।
बुधवार टेलिकमको केन्द्रीय कार्यालयमा नेपाल टेलिकम वर्कश युनियनले खबरदारी सभाको आयोजना गर्दै प्रवन्ध निर्देशकमा टेलिकम भित्रकै वरिष्ठ व्यक्तिलाई नियुक्त गर्न माग गरेको हो ।
सरकारले रिक्त रहेको प्रवन्ध निर्देशकको पदमा नियुक्ति गर्ने तयारी गरीरहेको बेला कर्मचारीले बाहिरबाट व्यक्ति ल्याएर प्रवन्ध निर्देशक बनाउनु नहुने भन्दै खबरदारी गरेका हुन् । टेलिकममा संस्था बुझेको, संस्थामा भिजेको र लगानी गरेको मान्छे प्रवन्ध निर्देशक हुनुपर्ने नेपाल टेलिकम वर्कश युनियन केन्द्रीय समितिका अध्यक्ष राजेन्द्र प्रसाद जोशीले बताए ।
टेलिकममा बाहिरी हस्तक्षेप हुन लागेको भन्दै उनले बाह्य हस्तक्षेपबाट मुक्त गराउनका लागि खबरदारी गरिएको बताए । नेपाल टेलिकम नबुझेको मान्छेले यस संस्थालाई हाँक्न नसक्ने उनले बताए ।
नेपाल टेलिकममा प्रवन्ध निर्देशक नियुक्तिका लागि नियुक्ति प्रक्रियाका विभिन्न मापदण्डहरुलाई परिवर्तन गरिएको भन्दै युनियनले आपत्ति जनाएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit