Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

नन्कुन्नी–निर्मला प्रकरण : छानबिन समिति गठन, रुबिले तोडिन् अनशन

तस्बिर : न्युज एजेन्सी नेपाल

सरकारले नेपालगन्जका महिला नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता प्रकरणमा छानबिन गर्न समिति गठन गरेको छ । गृह मन्त्रालय र आन्दोलनरतपक्षबीच भएको सहमतिअनुसार गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव हीरालाल रेग्मीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन भएको हो ।

 

समितिमा नेपाल प्रहरीका एसएसपी रामप्रकाश साह, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक धीरेन्द्रसिंह कार्की, गृह मन्त्रालयको कानुन महाशाखाका उपसचिव रामप्रसाद लम्साल, आन्दोलनरत पक्षबाट मोहम्मद सेर बागवान र जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत छन् ।

 

दुवै महिलालाई न्यायको माग गर्दै आमरण अनशन बसेकी अधिकारकर्मी रुबि खानले पनि अनशन तोडेकी छन् । उनी १२ दिनदेखि अनशनरत थिइन् । उनलाई गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले जुस खुवाएर अनशन तोडाएका हुन् ।

 

समितिलाई सात दिनभित्र प्रतिवेदन पेस समय दिइएको छ । समितिले स्थलगत रुपमा नै गएर छानविन गर्ने गृह मन्त्रालयले जनाएको छ ।

 

नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि अधिकारकर्मी र आफन्तले ११ दिनदेखि धर्ना दिँदै आएका थिए । पीडितको न्यायका लागि भन्दै नेपालगञ्जदेखि २० दिनको यात्रा गरेर काठमाडौं आइपुगेका १५ जना पीडित परिवारका सदस्य तथा महिला अधिकार कर्मीहरुले माइतीघरमा धर्ना दिएका हुन् । 

 

पीडित परिवारले धोबी र कुर्मी दुबैको हत्यारालाई कारबाहीको माग गरेका छन् । दुवै महिलाको हत्या गरिएको भए पनि स्थानीय प्रहरी प्रशासनले मुद्दा दर्ता गर्न आलटाल गरेको र दोषीलाई पक्राउ नगरेको भन्दै पीडित परिवारले दोषीलाई कारबाहीको माग गरी असोज १ गतेदेखि नेपालगञ्जबाट पैदल यात्रा गरेका थिए ।  

 

पीडित परिवारले दोषीलाई कारबाही गर्न तथा दोषी उपर कारबाही प्रक्रिया अगाडि नबढाउने जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएपी मधुसूदन न्यौपानेलाई विभागीय कारबाही गर्न पनि माग गरेका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै