Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

बजेटबारे माओवादीकै सांसदले गरे अर्थमन्त्रीको आलोचना, गगन र प्रदीपको यस्तो छ प्रश्न

सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा आज पनि संसदमा छलफल भइरहेको छ । 

 

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आव २०७९/८० को बजेटले व्यापार घाटा घटाउन सही दिशा पक्रेको बताएका छन् । राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिदै सांसद थापाले व्यापार घाटा कम गर्न उत्पादकत्व बढाउनुपर्ने उल्लेख गर्दै बजेटमा उत्पादनको स्पष्ट दृष्टिकोण प्रस्तुत भएको बताएका हुन् । 

 

उनले बजेटले उपयुक्त प्राथमिकता, गति र दृष्टिकोण समातेको धारणा राखे । कृषिलाई प्राथमिकता दिएर स्रोत विनियोजन पनि ठीक ढंगले भएको उल्लेख गरे । यद्यपि, उनले राजस्व र खर्चबारे अर्थमन्त्रीसँग प्रश्न गरे ।

 

नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले आयात घटाएर राजस्वमा वृद्धि गर्न नसकिने बताए । राजस्वको ठूलो हिस्सा आयातमा निर्भर भएको हुनाले आयात घटाएर राजस्व बढाउन नसकिने उनको भनाइ थियो । 

 

सेनिटरी प्याड र विद्युतीय सवारी साधनको आयातमा ठूला व्यापारिक घरानालाई फाइदा हुनेगरी व्यवस्था गरेको उनले उल्लेख गरे । ज्ञवालीले शिक्षामा अर्बौं रुपैयाँ देश बाहिर गएको भन्दै त्यसलाई रोक्ने कुनै पनि कार्यक्रम बजेटले ल्याउन नसकेको बताए ।

 

माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा सम्बन्धित कार्यलाई अर्थमन्त्री जनार्दन शर्माले बुझ्न नसकेको टिप्पणी गरे ।

 

स्वास्थ्य बीमा सरकारले सामाजिक उत्तरदायित्वसँग गाँसेर ल्याएको र निजी क्षेत्रले ल्याएको बीमा जस्तो नभएकोले कम्पनीलाई दिनु नहुने बताए । उनले बजेटमा स्वास्थ्य बीमा कम्पनीलाई दिने उल्लेख गरिएको भन्दै अर्थमन्त्रीले यसलाई पुनरावलोकन गर्नुपर्ने जनाए । उनले स्वास्थ्य बीमा कम्पनीलाई दिने कुरा युनिभर्सल कभरेजको कन्सेप्टबाट आएको बताउँदै नाफा र नोक्सानको कोणबाट नआएको धारणा राखे ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै