
स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले बताएको छ ।
सोमबार निर्वाचन आयोगले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले सोमबार दिउँसोसम्ममा देशभरबाट विभिन्न पदमा ३५३ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएको बताएका हुन् । त्यस्तै १७० दलित महिला सदस्य पदमा कुनै उम्मेदवारी नपरेको पनि उनले बताए ।
आयोगले नेकपा(एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र राप्रपाले निर्वाचन आचारसंहिता उलंघन गरेकाले सम्बन्धित दललाई सचेत गराएको र आगामी दिनमा आचारसंहिता विपरीतका काम नगर्न निर्देशन दिएको छ ।
त्यस्तै नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य शशांक कोइरालाको निर्वाचनमा ६ करोड रुपैयाँ खर्च भएको अभिव्यक्तिप्रति जवाफ माग गरिएको र आगामी दिनमा यस्तो अभिव्यक्ति नदिन सचेत गराएको छ ।
सहायक प्रवक्ता अर्यालले गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि निर्वाचन आचारसंहिता कार्यान्वयनप्रति सचेत गराइएको जानकारी दिए ।
त्यस्तै आयोगले निर्वाचनका बेलामा इन्टरनेट सेवा बन्द हुने अवस्था आएमा निर्वाचनको व्यवस्थापनमा गम्भीर असर पर्ने भन्दै यस्तो अवस्था आउन नदिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ । निर्वाचनका लागि हालसम्म ६४ जिल्लाका लागि १ करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी गरिसकिएको आयोगका सहायक प्रवक्ता अर्यालले जानकारी दिए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit