Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध युवा संघद्वारा अख्तियारमा उजुरी

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई राज्यकोषको २ अर्ब ५० करोड रुपैयाँ हिनामिनाको आरोप लगाउँदै नेकपा एमालेमा आबद्ध राष्ट्रिय युवा संघ, नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ । 

 

 

नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडाले जिम्मेवारी बहन गरेपछि कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप हराएको र सो को मूल्य करिब २ अर्ब ५० करोड रुपैयाँ रहेकाले हिनामिनामा मन्त्रीको संलग्नता रहेको राष्ट्रिय युवा संघ, नेपालले आरोप लगाएको छ । 

 

 

मन्त्री खतिवडा र यस कार्यमा संलग्न व्यक्तिहरुउपर छानबिन गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३, ८ र १७ तथा अन्य कानूनी प्रावधान बमोजिम कारबाही गर्न माग गरिएको संघका अध्यक्ष किरण पौडेलले बताएका छन् । उनले जनताको सुरक्षाको ग्यारेन्टी लिएको सरकार र स्वास्थ्य मन्त्रालयभित्रैबाट खोप हराउनु लज्जास्पद र जनघाति कदम भएको बताएका छन् ।

 

 

‘स्वास्थ्य मन्त्रालय भित्रैबाट २४ लाख डोज खोप हराएको छ । जनताको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी लिएको सरकार र स्वास्थ्य मन्त्रालय भित्रैबाट २४ लाख डोज खोप हराउनु भनेको अत्यन्त लज्जास्पद र अत्यन्त जनघाति कदम हो । कहीँ स्टोरेजको लिकेजबाट अथवा अन्य डाटावेश संकलन नभएको भन्ने कुतर्क दिदैँ यो प्रकरणको ढाकछोप गर्न खोजिएको छ । २ अर्ब ५० करोड रुपैयाँ बराबरको राज्यस्रोतको दुरुपयोग भएको छ । भ्रष्टाचार छ । स्वास्थ्यमन्त्री र यो प्रकरणमा संलग्न अन्य व्यक्तिहरुको छानविन गरी आवश्यक कारबाहीको प्रक्रियामा ल्याउनको निम्ति मुद्धा दर्ता गरेका छौँ’ उनले भने ।

 

 

अध्यक्ष पौडेलले मन्त्री खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३ बमोजिम उजुरी दर्ता गराएको बताएका छन् ।
 

प्रतिक्रिया

106
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै