Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

संवैधानिक परिषद्को सिफारिस फिर्ता पठाएकोमा राष्ट्रिय सभाका अध्यक्षको असहमति


राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक परिषद्ले पठाएको सिफारिस पत्र सभामुखले फिर्ता गरेकोबारे आपत्ति जनाएका छन् । सोमबार संसद् सचिवालयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष तिमिल्सिनाले आफूसमेत सहभागी भएर गरिएको परिषदका सिफारिसहरु विधिसम्मत भएको दाबी गरे ।

 

सभामुखको पत्रले राष्ट्रियसभाको गरिमामा प्रहार भएको भन्दै उनले पत्रमा राष्ट्रियसभा नै छैन जस्तो भाषा प्रयोग हुँदा आपत्ति जनाउनु परेको बताए । अध्यक्ष तिमिल्सिनाले आफू समेत सहभागी भई निर्णय भएको संवैधानिक परिषदका सिफारिसहरु विधिसम्मत ढंगले संसदीय सुनुवाइ समितिलाई उपलब्ध गराइएको बताएका हुन् ।

 

सभामुख अग्निप्रसाद सापकोटाले आइतबार परिषद्का कागजात सक्कलै फिर्ता पठाइदिएका थिए । उनले संसद विघटन भएकाले संसदीय सुनुवाइ सम्भव नभएको लगायत कारण देखाउँदै पत्र फिर्ता गरेका थिए ।

 

अध्यक्ष तिमिल्सिनाले सिफारिस पत्रहरु नेपालको संविधान र संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०७५ विपरित सभामुख र एकल निर्णयले फिर्ता पठाएकामा गम्भीर आपत्ति प्रकट गरे । सभामुखले फिर्ता पठाएको पत्रको असर नियुक्तिमा पर्छ जस्तो आफूलाई नलाग्ने उनले बताए ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै