Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

प्रधानमन्त्रीको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई माओवादी केन्द्रको निर्देशन

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान बसेको बैठकले सोमबारको प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुने विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो । 

 

त्यसैगरी कोभिड १९ संक्रमणको महामारी भयावह बन्दै गरेको अवस्थामा नागरिकको जीवन रक्षाका लागि सरकार गम्भीर नबनेको निष्कर्षका साथ तत्काल आवश्यक स्वास्थ्य सामग्री खरिद गरी नागरिकको जीवन रक्षाको प्रत्याभूति गर्न सरकारसँग माग गरेको छ । 

 

बैठकले विशेष गरेर आज प्रतिनिधिसभामा प्रस्तुत हुने प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने र सरकारलाई कोभिड संक्रमणबाट सर्वधारणको जीवनरक्षाका लागि तत्काल आवश्यक स्वास्थ्य प्रबन्ध मिलाउन माग गर्ने निर्णय गरेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।

 

‘पहिलो कुरा आज सदनमा सरकारको विश्वासको मत निर्णयार्थ प्रस्तुत हुँदै छ ।  त्यसमा विपक्षमा मतदान गर्ने निर्णय भएको छ । दोस्रो कुरा कोरोना नियन्त्रणका लागि सरकारले लापरबाही देखाएको छ । स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारको अविलम्ब छानबिन गर्नुपर्छ र  दोषीमाथि कारबाही गर्नुपर्छ । स्वास्थ्य सामग्रीहरु छिटोभन्दा छिटो आपूर्ति गर्नुपर्छ र महामारीमा सरकारले जनताको जीवन सुरक्षाको सुनिश्चितता गर्नुपर्छ भन्ने कुरा भएको छ,’ उनले भने ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै