
पाकिस्तानले नेपालमा खेलकुद, स्वास्थ्य, विकास पूर्वाधारजस्ता क्षेत्रमा सहकार्यलाई तीव्रता दिन थालेको छ । पछिल्लो समय भारतसँग पनि सम्बन्ध सुधार्दै गएको पाकिस्तानले नेपालमा पनि यस्तो गतिविधिलाई प्राथमिकता दिन थालेको हो ।
यसै क्रममा शुक्रबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाह ‘नेपाल–पाकिस्तान फ्रेन्डसिप क्रिक्रेट प्रतियोगिता २०२१’ को कार्यक्रममा सहभागी भएका छन् । कार्यक्रममा मेयर विद्यासुन्दर शाक्यले यस्ता प्रतियोगिताबाट दुई देशका युवा सँगसँगै अघि बढ्न सघाउ पुग्ने बताए ।
पाकिस्तानी राजदूत शाहले पनि प्रतियोगितामा बढ्दै गएको सहभागिता र चासोको विषय प्रशंसनीय भएको भएको धारणा राखे । १४ मार्चबाट सुरु हुने उक्त प्रतियोगिता १० दिनसम्म चल्नेछ, जहाँ १२ टिम सहभागी हुनेछन् ।
केही दिनअघि पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले नेपाल–पाकिस्तानबीच सिधा उडानको सम्भावनाका बिषयमा छलफल सुरु गरेका छन् । उनले गत बिहीबार पाकिस्तानको सरकारी हवाई सेवा पीआइएका कार्यकारी अधिकृत एयर भाइस मार्सल अर्शद मलिकसँग इस्लामाबादमा भेटबार्ता गरेका हुन् ।
दूतावासका अनुसार मलिकसँगको भेटमा दुबै देशको पर्यटन, ब्यापार, लगानी र नागरिकबिचको सम्पर्क बढाउन सिधा हवाई सम्पर्क आवश्यक रहेको बिषयमा छलफल भएको थियो ।
यसअघि पाकिस्तानी राजदूत शाहले भरतपुर आँखा अस्पतालको निरीक्षण गर्दै नेपाललाई सहयोग गर्न पाकिस्तान सधैं रहेको बताएका थिए । त्यस क्रममा उनले अस्पतालले निर्माण गर्न लागेको नयाँ भवनमा सहयोग गर्ने पनि जानकारी गराएका थिए ।
पाकिस्तानको भारतसँगको सम्बन्धमा पनि पछिल्लो समय केही सुधार देखिएको छ । दुवै देशले गत २६ फेब्रुअरीमा नियन्त्रण रेखा (एलओसी)मा संघर्षविरामको घोषणा गरेका थिए । दुवै देशका सेनाका डाइरेक्टर जनरल अफ मिलिटिरी अपरेसन्स (डीजीएमओ) बीचको छलफलपछि संघर्षविरामको घोषणा गरिएको थियो । यसअनुसार दुवै देशको एलओसीमा गोली प्रहार बन्न गर्ने भएको छ ।
यस विषयलाई अमेरिका तथा संयुक्त राष्ट्र संघले पनि खुशी व्यक्त गरेका थिए । साथै, संघर्षविराम सकारात्मक कदम भएको जनाउँदै दुवै देशका सुरक्षा विज्ञले यस सम्झौताबाट संवादको मार्ग पनि खुल्ने अपेक्षा गरेका छन् ।
नेपाल र पाकिस्तानबीच लामो समयदेखि सुमधुर सम्बन्ध रहँदै आएको छ । दुवै देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको पनि ६ दशक पुगिसकेको छ । नेपाल र पाकिस्तानबीच २० मार्च १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit