Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

भोलिको मतदानमा संक्रमित सांसद पनि सहभागी हुन पाउने

फाइल तस्बिर

संघीय संसद सचिवालयले भोलि सोमबारका लागि बोलाइएको प्रतिनिधिसभाको विशेष अधिवेशनमा कोभिड–१९ संक्रमित सांसदहरुलाई पनि सहभागी हुने व्यवस्था मिलाउने भएको छ ।

 

संघीय संसद भवन नयाँबानेश्वरमा आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सुरक्षाका सम्पूर्ण मापदण्ड प्रयोग गरी संक्रमित सांसदहरुलाई पनि सहभागी गराउने निर्णय गरेको हो । 

 

भोलिको अधिवेशनमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रम रहेकाले मतदान गर्ने सांसदहरुको अधिकारको सुनिश्चितता गदै संक्रमित सांसदहरुको लागि छुट्टै बस्ने कक्षको व्यवस्था गरी मतदानमा सहभागी गराउन लागिएको नेकपा एमालेमा प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

 

कोभिड–१९ संक्रमणको जोखिमका बीच सोमबारको अधिवेशन सञ्चालन तथा पोजिटिभ देखिएका सांसदहरुलाई सुरक्षा सतर्कताका साथ मतदानको व्यवस्था गर्ने निर्णय बैठकले गरेको उनले उल्लेख गरे ।

 

‘अहिलेसम्म २८ जना सांसदहरु संक्रमित भएकोे देखिन्छ । यस्तो अवस्थामा संक्रमितहरुलाई भोलिको विश्वासको मतको निर्वाचनस्थलसम्म ल्याइपुर्याउने र सुरक्षित तरिकाले मतदानमा सहभागी गराउने कुरा असाध्यै चुनौतीपूर्ण छ । आज हामीले त्यही विषयमा छलफल गर्यौं र सांसदहरुलाई सुरक्षित तरिकाले एम्बुलेन्समा स्वास्थ्यको मापदण्ड प्रयोग गरेरै ल्याएर मतदानमा सहभागी गराउने निर्णय भयो,’ उनले भने ।

 

नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङले कोभिड संक्रमित सांसदहरु कोही अस्पताल त कोही उपत्यका बाहिर रहेकाले मतदानको अधिकारबाट कोही नछुटून् भन्ने ढंगले व्यवस्था मिलाउने बारेमा छलफल भएको बताए ।

 

‘कोही पोजिटिभ देखिएका कतिपय अस्पतालमा हुनुहुन्छ । कतिपय भ्याली बाहिर हुनुहुन्छ । उहाँहरुलाई ल्याउन सक्ने कुरा हुदैन । के गर्ने ? मतदानको अधिकारबाट नछुटुन् भन्ने तहसम्मको अधिकतम तयारी गर्नुपर्छ भन्ने कुरा भएको छ । मतदानको अधिकारबाट नछुटुन् भन्ने ढंगले तयारी गर्ने भन्ने कुरा भएको छ,’  नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले विज्ञ, चिकित्सक र स्वास्थ्यकर्मीहरुसंग परामर्श गरेर संक्रमित सांसदहरुलाई मतदान गर्ने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको जानकारी दिए । 

 

अहिलेसम्म पिसिआर नगरेका सांसदहरुलाई पिसिआरका लागि आग्रह गर्ने र रिपोर्टका आधारमा सुरक्षित रुपमा मतदान गराउने तय भएको बताए ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै