Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

राष्ट्रियसभा निर्वाचनको परिणाम एमालेका लागि प्रतिकूल हुनसक्छ : केपी ओली

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनको परिणाम आफूहरुका लागि प्रतिकूल आउन सक्ने बताएका छन् ।

 

 

पार्टीको जिल्लाहरुको अधिवेशनलाई शुक्रबार भर्चुअल माध्यामबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रियसभाको निर्वाचन पहिलेकै जनादेशलाई दूरुपयोग गरेर हुने भएकाले त्यसको परिणाम आफ्नो पार्टीको लागि प्रतिकूल हुनु कुनै अनौठो नभएको बताएका छन् । उनले राष्ट्रियसभाको निर्वाचन पार्टीका लागि अनुकूल नभएपनि आफ्नो पार्टी मुलुकको पहिलो शक्ति रहेको बताएका छन् ।

 

 

उनले राष्ट्रियसभाको निर्वाचनमार्फत् सत्तारुढ गठबन्धनले आफ्नो पार्टीलाई गर्ने अन्तिम प्रहार भएको पनि बताएका छन् । त्यो प्रहारबाट न आत्तिन र जनतामा भ्रम पर्न नदिन उनले पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएका छन् ।

 

 

‘अहिले हाम्रो अगाडि राष्ट्रियसभाको निर्वाचन आइरहेको छ । राष्ट्रियसभाको निर्वाचन माघ १२ गते सम्पन्न हुन्छ । मतदान हुन्छ त्यसमा १२ गते । र, त्यसको परिणाम हाम्रा निम्ति अलि प्रतिकूल आउन सक्छ । किन प्रतिकूल आउन सक्छ भने त्यो आजको जनमत होइन । र त्यो कुनै यथार्थ जनमत होइन । हामीले हिजो साँढे चार वर्ष अगाडि जनताबाट जुन जनमत ल्याएका थियौं । त्यो जनमत ल्याउँदाखेरी हामीले विभिन्न पक्षहरुलाई सन्तुलन मिलाएर, विभिन्न पक्षलाई सिट दिएर र विभिन्न प्रकारको व्यवस्थापन, साथीहरुले सुन्नु भएको छ’ उनले भने ।

 

 

‘व्यवस्थापनको नाममा विभिन्न व्यक्तिहरुलाई विभिन्न प्रवृति भनेर अहिले जनता मतदाता हुने होईन । पहिलेनै निर्वाचित जनप्रतिनिधिबाट, जसलाई कम्युनिष्ट आन्दोलनबाटै सखाप पर्ने, विगार्ने, भत्काउने काम गरे । यस्तो अवस्थामा अहिलेको राष्ट्रियसभा निर्वाचन त्यो हिजोको जनप्रतिनिधिहरु त्यहाँबाट निर्वाचित हुने हो । जसलाई सकेसम्म ध्वस्त पार्न खोजिएको थियो । तर त्यस्तो ध्वस्त हुने स्थिति होइन । तर परिणाम त यदि हाम्रो ५१ छ भने हामी जित्थ्याैं । २ जना मान्छे तलमाथि पारिदिँदा हाम्रो ४९ मा झर्छ’  उनले भने ।

 

 

‘विपक्ष गठबन्धन भन्ने अहिले जुन छ, यो अपवित्र गठबन्धन, यो प्रतिगामी गठबन्धन, यसको ४९ बाट ५१ हुन सक्छ । ४८ बाट ५२ हुन सक्छ । ४५ बाट ५५ हुन सक्छ । तर अहिले पनि हामी अरु पार्टी भन्दा मजदुत छौं । एक्लै अरुभन्दा माथि छौं । तर यसमा जुन ५० परसेन्ट चाहिने अवस्था हो । सम्पूर्ण शक्तिहरु मिलेर यतिबेला हिजोको जनमत र हिजोको परिस्थितिको दूरुपयोग गरेर अहिले हाम्रा निम्ति अलि प्रतिकूल परिणाम यस राष्ट्रिय सभाको निर्वाचनबाट आउन सक्छ । म साथीहरुलाई भन्न चाहन्छु–र जनसमूदायलाई पनि स्पष्ट पार्न चाहन्छु–यो आजको जनादेश होईन । आजको जनमत होईन, आजको यथार्थ होइन । हिजोको बेग्लै परिस्थितिको दूरुपयोग गरेर पैदा गरिएको अवस्था हो’ उनले भने ।

 

 

‘त्यसकारण यसमा हाम्रो अलिकति सकारात्मक परिणाम आएन भनेर अनौठो मान्नुपर्ने कुनै अवस्था छैन । यो हिजोको कुरा हो । र नेकपा एमालेलाई संसदीय क्षेत्रमा, संसदीय संघर्षको मैदानमा र तीनै तहको निर्वाचनहरुमा नेकपा एमालेमाथि गर्न सक्ने हानिकारक प्रहारको अन्तिम किस्सा यो हो । नेकपा एमाले फुटाउन तत्वहरुको अन्तिम प्रहार यही हो । यसभन्दा पछि जनतामा जाँदा अव उप्रान्त उनीहरुसँग त्यो हैसियत रहँदैन । त्यसैकारण सबैले सुनिरहनु भएको छ । जो जति कमजोर छ, त्यत्यति कमजोर बढदा कराई रहेको छ । कि यो गठबन्धन निर्वाचनसम्मै जानु पर्छ भनेर । जो जति कमजोर छ, उसलाई गठबन्धन त्यतिनै चाहिएको छ । नेकपा एमालेलाई गठबन्धन चाहिएको छैन । नेकपा एमाले एक्लै चुनौतीहरुको सामना गर्न सक्षम छ’ उनले भने ।

 

 

अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमाले एक्लै सत्तारुढ गठबन्धनसँग भिड्न सक्षम रहेको दाबी गरेका छन् । उनले असंवैधानिक तरिकाले वर्तमान सरकार बनेको दावी गर्दै मतदानको माध्यामबाट हटाउन आम जनतालाई अपिल पनि गरेका छन् । उनले संसदबाट नभई अन्यत्रैबाट बनेको सरकारलाई करिव ३ करोड नेपाली जनताले आगामी निर्वाचनमा मतपत्रको माध्यामबाट अन्त्य गर्नुपर्ने बताएका छन् । उनले जनताले एमाले नेतृत्वको सरकारको प्रतिक्षा गरिरहेको भन्दै सोही अनुसार निर्वाचनको तयारीमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन  दिएका छन् ।

 

 

‘आज हामी देखिरहेका छौं हरेक ठाउँमा योग्य मानिसहरुलाई हटाउने र भर्ती केन्द्र बनाउने काम भईरहेको छ । आज ३० हजार भन्दा बढी पालिकाहरुले नर्सिङ खोल्छौँ भनेर एप्लाई गरे । नर्सिङ कलेजहरु बन्द गर्ने अभियान चलाएको छ सरकारले । र अब विदेश पठाउने र रेमिटयान्सबाट देश चलाउने अभियानमा गईरहेको छ सरकार । यो अत्यन्तै दुःखको कुरा हो’ उनले भने । 

 

 

‘हाम्रा महाधिवेशनको सन्देशहरु लिएर जनतामा जान म हाम्रा तमाम कमरेडहरुलाई, तमाम कार्यकर्ता साथीहरुलाई हार्दिक आग्रह गर्न चाहन्छु । देशले नेकपा एमालेबाट धेरै ठूलो अपेक्षा गरेको छ । जनताले एमाले हेरेर आशा भरोसाका साथ एमालेको विजय कहिले कसरी गराउने भनेर प्रतिक्षा गरिरहेका छन्’ उनले भने ।

 

 

उनले नर्सिङ कलेजहरु हटाउने, हरेक ठाउँलाई पार्टीको भर्ती केन्द्र बनाउने काम सरकारले गरिरहेको भन्दै आक्रोश समेत व्यक्त गरेका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै